सिन्धुली । जिल्लाका सर्वपक्षीय टोलीले बागमति प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसँग भेटवार्ता गरेको छ । बागमती प्रदेशसभा सासंद विनोद खड्काको नेतृत्वमा प्रदेशसभा सासद वसन्त माझी, प्रदीप कटुवाल, राजन दाहाल, पूर्वजिविस सभापति रमेश कार्की, पूर्वजिविस सदस्य, समन्धित भूगोलका पूर्वगाविस अध्यक्ष, सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल, सम्बन्धित भूगोलका वडाध्यक्षलगायत स्थानीयको टोलीले भेटवार्ता गरेको हो ।
उक्त टोलीले सिन्धुलीगढी, नागी, चालिसे, मतनवास, बन्दीपुर, काफ्लेचौर, डाढी ग्रामीण कृषि सडक निर्माणका लागि बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसँग सामूहिक माग गरेको छ । केही दिनअगाडि सुनकोसी गाउँपालिका–२, ४, ५ र ७ का स्थानीय बासिन्दाले नागी मझुवा गौंखर्क, अमारे, मूलकोट हुँदै दुम्जा जोडिने सडक डिपिआर भएको तर सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, डाढीसम्म सडक निर्माण नभएको भन्दै विरोध गरेका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्री फुयालले सिन्धुलीगढी, नागी, चालिसे, मतनवास, बन्दीपुर, काफ्लेचौर, डाढी ग्रामीण कृषि सडक कालोपत्रे गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले छिटै नै उक्त सडकको डिपिआर निर्माण कार्य सुरु गरिने बताएका छन् । यस्तै नागी मझुवा गौंखर्क, अमारे, मूलकोट हुँदै दुम्जा जोडिने सडकलाइ पनि पुरानौ डिपिआर भएको स्थानबाट काम अगाडि बढाउन उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया