अर्घाखाँची । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर अवस्थामा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अलोकतान्त्रिक कदम चाली सरासर नेपालको संविधान विपरीत, लोकतन्त्रको मर्मविपरीतको प्रतिगमन तर्फको यात्रा तय गरेको बताए ।
मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लामो सर्घषपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गरी गणतन्त्र, संघीयता धर्मनिरपेक्षता, समावेशीलोकतन्त्र सहितको नयाँ लोकतन्त्रको परिकल्पना गरी संस्थागत गरेका थियौँ । देशमा फेरी राजनीतिक संकट सिर्जना भएको छ, सबै खालका आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै राजनीतिक दल, नागरिक समाज, मिडियाकर्मी सबै लाग्नुपर्ने बताए ।
नेपालमा राजनीतिक स्थिरता स्थायित्व, सुशासन, कायम गरी मुलुकलाई समृद्धिको दिशामा लैजान निर्वाचित सरकारले पूर्ण कार्यकाल पूरा काम नगरी प्रतिनिधिसभा बिघटन हुन नपाउने संविधानमा स्पष्ट उल्लेखसमेत भएको भट्टराईले बताए । भट्टराईले भने, ‘यतिवेला संविधानमाथि ‘कू’ भएको छ, वैशाखमा चुनावको घोषणा भए पनि कुनै पनि हालतमा चुनाव हुन नसक्ने हुँदा देश दुर्घटनातर्फ जान लागेको छ ।’ राज्यले प्रतिगामी कदमलाई संरक्षण गर्न विभिन्न खालका षड्यन्त्र गर्ने हुँदा, यदि संसद् पुनस्र्थापना नभए मुलुकमा संकटकालसम्म पनि लाग्नसक्ने बताए ।
जसपा अध्यक्षसमेत रहेका भट्टराईले असंवैधानिक कदमको बेलैमा दबाब सिर्जना गरी रोक्नुपर्ने बताए । प्रतिनिधिसभा जीवित भएकोले आन्दोलनबाट जनदबाब सिर्जना गरी सभामुखले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नसक्नेसमेत जानकारी दिए । यतिबेला राजनीतिक दलको घेराभन्दा माथि उठेर संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘विदेशी शक्तिले नेपालमा चलखेल, गरी राजनीतिक अस्थिरता कायम गर्न विभिन्न खालका चलखेल भएको छ, सबैले खबरदारी गर्दै सबै एक भएर अगाडि बढ्नुपर्छ ।’ प्रेस नेपाल अर्घाखाँचीको आयोजनामा भएको पत्रकार सम्मेलन संगठनका जिल्ला अध्यक्ष दिनेश सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अर्घाखाँची
प्रतिक्रिया