सल्यान । जिल्लामा समाधि स्थलको विषयमा स्थानीयहरूबीच विवाद उत्पन्न भएको छ । वागचौर नगरपालिका–९ जलेखर्कमा डेढ सय वर्ष पुरानो समाधि स्थलका विषयमा पछिल्लो समयमा विवाद वढ्न थालेको हो । दशनामी जातिहरूले प्रयोग गर्दै आएको समाधि स्थलका विषयमा सोही ठाउँमा चिहान बनाउने कि सार्ने भन्ने विषयमा स्थानीयहरू दुई पक्षमा विभाजित भएपछि गाउँमा सामाजिक सम्बन्धसमेत विग्रन थालेको छ । गाउँमा रहेका एक पक्षले डेढ दशकदेखि प्रयोग गरिरहेको पृतिकोटमा रहेको समाधि स्थल कायमै राख्ने भन्दै आएको छ भने अर्को पक्षले समाधिस्थल गाउँभन्दा टाढा बनाउनुपर्ने अडान राख्दै गएपछि विवाद चुलिँदै जान थालेको छ ।
जलेखर्कमा अधिकांश परिवारहरू दशनामी समुदायका भएकोले आफनो संस्कारअनुसार शव अन्त्यष्टीका लागि नजलाएर चिहान बनाएर समाधिष्ट गर्ने प्रचलन रहेको स्थानीय चन्द्रबहादुर कवरले जानकारी दिए । ‘हाम्रो पुर्खाहरूको यसै पितृकोटमा समाधिहरू छन्, हामी पनि मृत्युपछि यही बस्ने हो’, कवरले भने, ‘हाम्रो घर अस्थायी हो, यो चिहान नै हाम्रो स्थायी घर भएकाले मृत्युपछि हाम्रो पुर्खाहरूसँग नै हामी पनि बस्न चाहन्छौँ ।’
स्थानीयहरूको विवादपछि आपूmहरूले सोही स्थानमा अमिन बोलाएर चिहानका लागि जग्गा छुट्याएको उनले बताए । उनले भने, ‘अहिले पनि हामीले आफ्नो ठाउँमा समाधि बनाउन नपाउने यो कस्तो अन्याय हो । जब यहाँ कसैको मृत्यु हुन्छ, यो ठाउँमा चिहान नबनाउनु होला भनेर त्यो घरमा चिठ्ठीहरू भेटिन्छ ।’ मानिसलाई एक अकल्पनीय दुःख परेको बेला छिमेकीहरूले छोडेको यस्ता पत्रहरूले झनै दुःखी बनाउने गरेका उनको भनाइ छ ।
यता अर्कोपक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आपूmहरूलाई समस्या भएको बताएका छन् । पुर्खौंदेखि यस स्थानमा मृत मानिसहरू समाधिष्ट गरिँदै आए पनि अब भने बस्ती विस्तार हुनथालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमा वली गिरीले बताइन् । ‘चिहान वस्ती नजिक हुँदा बालबालिकाहरूमा समेत मनोसामाजिक असर पर्न थालेको छ, यसलाई वस्तीभन्दा टाढा सार्दा के नै फरक पर्छ र !’, गिरीले भनिन् । घर नजिकै रहेको चिहानस्थलमा शवहरू ल्याउँदा महिला र बालबालिकाहरूलाई डर तथा त्रास हुने गरेको उनको भनाइ छ ।
चिहानसम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ । यस विषयमा सम्बन्धित सरोकारवालाहरूले पटकपटक दुबै पक्षहरूबीच सहमति गराए पनि कार्यान्वयन भने हुन सकेको छैन ।
प्रतिक्रिया