आठ स्रष्टालाई कलाश्री

काठमाडौं । नेपाली कला, साहित्य, संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान–२०७७ सर्वश्री जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेकोे छ । स्रष्टा अशेष मल्ललाई एकलाख रुपैयाँ राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार–२०७७ प्रदान गर्ने भएको प्रतिष्ठानले जनाएको छ । यस्तै, प्रतिष्ठानले स्रष्टा ठाकुर बेलबासेलाई ७५ हजार रुपैंयाँ राशिसहितको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७७, पत्रकार एवं स्रष्टा लक्ष्मी उप्रेतीलाई ५० हजार राशिसहितको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०७७, युवा चित्रकार विधाता केसीलाई ५० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०७७ र गायिका मिलन अमात्य नेवारलाई ५० हजार राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार–२०७७ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको २५ हजार र २० हजार राशिका योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कला संस्कृति पुरस्कार क्रमशः संस्कृतिविद् डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई प्रदान गरिन भएकोे छ । प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, संगीत, संस्कृति, दर्शन, इतिहास एवं विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापना गरी स्रष्टालाई प्रोत्साहन गर्दै आएको उल्लेख छ । प्रतिष्ठानले अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्व परिवेशमा परिचित गराउन विगत तेह्र वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र संगीतका साधकलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा यसअघि राष्ट्रिय कलाश्री सम्मानबाट जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला र प्रेमध्वज प्रधानलाई सम्मानित गरिसकेको छ । त्यस्तै, राष्ट्रिय कलाश्री पुरस्कारबाट इन्द्रबहादुर राई, सुकर्म सांगीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र विमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईं, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त र गणेश रसिकलाई प्रदान गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, नौ वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि विप्लव ढकाल, कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल र सरस्वती प्रतीक्षालाई प्रदान गरिएको थियो । बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई प्रदान गरिएको थियो । थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०७५ चित्रकार एरिना ताम्राकार र २०७६ मा मूर्तिकार विक्रमश्रीलाई प्रदान गरिसकिएको छ । प्रतिष्ठानले गत वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार शिशिर योगीलाई प्रदान गरिएको थियो । प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार सम्मान तथा पुरस्कार विशेष समारोहका बीच यही फागुन महिनामा प्रदान गरिँदै छ ।

प्रतिक्रिया