मुगुमा हुड्के नाच र देउडा गीतबाट प्रधानमन्त्री ओलीको विरोध

मुगु । हिमाली जिल्ला मुगुमा हुड्के नाच र देउडा गीत गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् ।

गत महिना पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै देशभर विरोध प्रर्दशनका कार्यक्रम भईरहेका बेला नेपाली कांग्रेस मुगुको भातृ संस्था नेपाल तरुणदल, नेविसंघ, दलित संघ, महिला संघलगायत विभिन्न संस्थाको आयोजनामा हुड्के नाच्दै र देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोध गरेका हुन् ।

सदरमुकाम गमगढी बजारमा हुड्के नाच्दै देउडा गीत गाउँदै पुरुष र महिलाहरूले ‘केपी तेरो पाराले दुख पाए साराले’, ‘कम्युनिष्टको वेपत्ता कांग्रेसको एकता’ जस्ता टुक्का रचेर देउडा प्रदर्शन गरेका थिए ।

नेपाली कांग्रेस मुगुका पार्टी उपसभापति खगेन्द्र बहादुर मल्लका अनुसार प्रधानमन्त्री ओलीको कदम संविधान विपरित भएको र संविधानमाथि बलात्कार गर्ने राष्ट्रघाती केपी ओली भएको भन्दै विरोधमा उत्रिएको हो । उनले भने, ‘प्रधानमन्त्री ओलीले गरीब जनताको पसिना र शहीदको रगतले लेखिएको संविधानको अपमान गरेका छन् ।’

कार्यक्रममा अधिकांश वक्ताले केपी ओलीले राष्ट्र विरोधी कदम चालेकाले देश बचाउन अब कांगे्रसको आवश्यकता भएको बताए । नेपाली कांग्रेसले सविधानको रक्षाका लागि आफूहरूले विरोध गरेको नेता तथा कार्याकताले बताएका छन् ।

प्रतिक्रिया