कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक सुरु

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ ।

सरकारले आगामी वैशाख महिनामा दुई चरणमा आम निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम, विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन लागेको हो ।

आगामी बुधबारसम्म ९ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरेको निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले जानकारी दिए । उनले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सकिने व्यवस्था समेत गरिएको बताए ।

‘नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुठो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको छ’, उनले भने, ‘थप कार्यक्रम छलफल गरी अघि बढाइने छ ।’

तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख ७७ हजार ५९ मतदाता रहेका छन् । एक सय ३२ मतदानस्थल रहेको जिल्लामा ३३० मतदान केन्द्र रहेका छन् । उनका अनुसार यहाँका ९ वटै पालिकाको केन्द्रमा सहायक नाम दर्ता अधिकारी खटाएर अद्यावधिक थालिएको छ ।

‘दोधारा–चाँदनीमा रहेको माहामाया माविमा रहेको मतदान केन्द्रलाई भानु बहुमुखी क्याम्पसमा पुर्नवलोकन गर्न हामीले आयोगलाई सिफारिस गरेका छौँ’, उनले भने, ‘सिफारिस यहाँबाट गरे पनि निर्णय आयोगले गर्छ ।’

प्रतिक्रिया