सिरहा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सिरहा जिल्ला इन्चार्ज लीलानाथ श्रेष्ठले आफै हस्ताक्षर गरी सरकारी कार्यालयसँग कार्यक्रमका लागि आर्थिक सहयोग माग गरेका छन् । स्व. हेमनारायण यादवको १७ औं स्मृति दिवसमा आयोजना हुने कार्यक्रमका लागि भन्दै मन्त्री श्रेष्ठले सिरहाको विभिन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका हुन् । सिरहा सदरमुकाममा आज हुने स्मृतिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रमको व्यवस्थाका लागि आर्थिक सहयोग गरिदिनुहोला पत्रमा भनिएको छ । पत्रमा रकम उल्लेख नगरिए पनि मन्त्री श्रेष्ठले रु ५० हजार आर्थिक सहयोग गर्न दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।
मन्त्रीले नै पत्र पठाएपछि आर्थिक सहयोग गर्नैपर्यो तर बजेट नहुँदा समस्या भएको ती कार्यालय प्रमुखको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इञ्चार्जको हैसियतमा मन्त्री श्रेष्ठले हस्ताक्षर गरेको सरकारी कार्यालयलाई आर्थिक सहयोगको पत्र पठाएपछि सबै जना आश्चर्यमा परेका छन् । मन्त्रीको उक्त कार्यको सबैले आलोचना गर्दै मन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले पत्र नै पठाएर आर्थिक सहयोग माग गर्नु अत्यन्तै दुखद कार्य भएको बुद्धीजिवीहरुले टिप्पणी गरेका छन् । यसबाट सरकारी कार्यालयहरुमा भ्रष्टाचार अझै मौलाउँने बुद्धिजीवीहरुको कथन छ ।
प्रतिक्रिया