प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ ।

गत साल फागुन दोस्रो सातायता कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् तर गत सोमबार मात्रै प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई विपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले पक्राउ गर्यो ।

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट विपी राजमार्ग हुँदै काठमाडौं आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता ९८४० ट्याब्लेट०, डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको मङ्गलटार प्रहरीले जनाएको छ ।

हाल घिसिङ र कामतलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनः सफल भएको हो ।

यस घटनाले लागुऔषध कारोवारी पुनः सक्रिय भएको थापाले बताए । उनले कारोवारीको खोजीकार्य तीव्ररूपमा गरिने बताए । ‘घटनाले एक वर्षपछि कारोवारी पुनः सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौँ’, उनले भने ।

प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाई राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गर्यो ।

त्यसको केही महिनाअघि विराटनगरबाट विपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित युपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्यो ।

बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ५१४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङको चिउरीडाँडाका २५ वर्षीय आशीष थापालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले कार्की र थापाको वयानकै आधारमा गत साल पुस १७ गते राति अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौंबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ घर भएका ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गर्यो ।

सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईँ, महोत्तरी जिल्ला लक्ष्मीनिया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय साहलाई सात पत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको जनायो । प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो ।

प्रहरी प्रतिवेदनका अनुसार विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास) बाट लागुऔषध ओसारपसार हुने गरेको छ । प्रहरीको तथ्यांकअनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको छ ।

तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए ।

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध संकलन गरी बनेपा र आसपासका शहर तथा काठमाडौंमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको वयान दिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ ।

छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्यांकअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३४ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६३ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया