खेल-खेलाडी

होबार्ट लिग चरणबाटै बाहिरियो

सौर्य अनलाइन २०७७ माघ १४ गते ८:२८ मा प्रकाशित

सिड्नी । नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ को लिग चरणबाटै बाहिरिएको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा होबार्ट मेलबर्न रेनेगड्ससँग ११ रनले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । होबार्टका डेविड मलानले ३६ बलमा २ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिए ।

डार्सी सर्ट २९, पिटर ह्यान्डस्कोम्ब १९, टिम डेविड १४, म्याथ्यु वेड र विल ज्याक्स १३–१३ रनमा आउट भए । अन्तिम बलमा ब्याटिङ गर्न आएका सन्दीप एक रन जोड्दै अविजित रहे । रेनेगड्सका ज्याक इभान्सले ४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको रेनेगड्र्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । रेनेगड्सका लागि तल्लोक्रमका ब्यूउ वेबस्टरले ३५ बलमा ४ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहेका थिए ।

म्याकेन्जी हार्वेले ३७ बलमा १ चौका र २ छक्का सहित ४० रनको योगदान दिए । होबार्टका राइली मेरिडीथले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३५ रन खर्चेपनि विकेट लिन सकेनन् । होबार्ट १४ खेलमा समान ७ मा जित र हार सहित २८ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । सन्दीपले ८ खेलमा ८ विकेट लिँदै होबार्टको यस सिजनको यात्रा सकाएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय