निर्वाचनमा निजी क्षेत्रको सहयोग आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा निजी क्षेत्रको सहयोग आवश्यक भएको बताएका छन । सरकारले आगामी बैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचन गरीसकेको छ । ६९ औं भन्सार दिवसमा मन्त्री पौडेलले निर्वाचनको लागि निजी क्षेत्र र कर्मचरीको सहयोगको अपेक्षा गरेका हुन । उनले कोरोना खोपले देशको आर्थिक गतिविधि अघि बढाउन सहयोग पु¥याउने पनि बताए ।

अर्थमन्त्री पोडेलले ‘मुलुक अहिले चुनावको माहोलमा अघि बढेको, लोकतन्त्रको प्राण चुनाव भएकोले सरकारको चुनावी माहोललाई समर्थन गर्न कर्मचारी तथा निजी क्षेत्रका साथीलाई आग्रह गरेको भनाई राखेका थिए । उनले भन्सारको कामकाजमा सहजीकरण गर्न मन्त्रालय तत्पर रहेकोमा जोड दिएका थिए । व्यावसायीको जायज मागलाई सम्बोधन गर्ने र व्यावसायीले पनि न्यून बिजकीरणको समस्या अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा अन्तर्राष्ट्रिय व्यापार प्रक्रियामा कागजी युगको अन्त्य भएको पनि अर्थमन्त्री पौडेलले बताएका छन । उनले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको पनि सुरूवात गरे । प्रणाालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिकरूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य गर्ने उनको भनाई थियो ।

प्रणाली अन्तर्गत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र कर लगायत सूचना प्राप्त गर्न सकिन्छ । प्रणाली अन्तर्गत व्यापारीले कागजात स्क्यान गरेर अनलाइन अपलोड गर्न सक्नेछन भने सरकारी अनुमति तथा निर्णय सोही माध्यमबाट फिर्ता पाउन सकिने छ । प्रणालीले व्यापार प्रक्रिया निकै छोटो बनाउने बताएको छ भने लागत १५ देखि २० प्रतिशतले घट्ने दाबी गरिएको छ ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले यो वर्ष विश्व अर्थतन्त्र, क्षेत्रीय अर्थतन्त्र र नेपालको अर्थतन्त्र सुखद अवस्थामा नरहेकामा पनि भन्सार संयन्त्रले आपूर्ति शृंखलालाई व्यवस्थित गर्न गरेको कामको प्रशंसा गरे । भन्सार दिवसले सुदृढ आपूर्ति प्रणालीलाई व्यवस्थित गर्ने, आर्थिक विकास तथा सहजीकरणका लागि सबै पक्षको सहकार्यले सुनिश्चित गर्ने, प्रविधिलाई केन्द्रविन्दुमा राखेर आर्थिक रुपान्तरण गर्नुपर्ने विषयलाई केन्द्रमा राख्नुपर्ने मार्गनिर्देश गरेको उनले बताए ।

ढुंगानाले भन्सार प्रशासनले उल्लेखनीय काम गरेकाले निजी क्षेत्रले भन्सारलाई हेर्ने नजर बदलिएको भन्दै भने,‘यस्तो अवस्थामा भन्सार प्रशासन थप प्रविधिमा आधारित हुन जरुरी छ ।’ उनले योजनाबद्ध ढंगबाट भन्सार प्रशासन अघि बढेकोमो पनि जोड दिए । भन्सार जाँचपास तथा घोषणामा वा भन्सार क्रियाकलापलाई सुक्ष्म निगरानी गर्नसक्ने केन्द्रीकृत प्रणाली विकास, प्रणाली सुदृढीकरण गर्ने आसिकुडालगायत सुधारका कडीमा नेपाल राष्ट्रिय एकद्वार प्रणालीले थप साथ दिएको उनको दाबी थियो ।

ढुंगानाले भने,‘ अबका दिनमा व्यापारको लागत घट्छ, व्यापार गर्न सहज हुन्छ । निजी क्षेत्रलाई व्यापार सहज र व्यापारमैत्री भन्सार प्रशासनको आधार तयार हुन्छ ।’ उनले प्रशासनको दिशा, गति र लयले भन्सारलाई नयाँ मान्यता तथा स्वरुपलाई लैजाने अवस्था सिर्जना भएकोमा पनि जोड दिए । प्रत्येक भन्सार दिवसमा नयाँ प्रणाली विकास गरेर सुदृढीकरणमा इँटा थप्दै गइरहेको भन्दै उनले त्यसको संरक्षण तथा दिगोपना महत्वपूर्ण हुने औचित्यमा जोड दिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभागको आधुनिकीकरणले व्यावसायीलाई सहज हुने बताए । उनले भने,’अहिले आयात घटेकोले शोधानान्तर बचतमा देखिएको छ, बिस्तारै आयातको ग्राफ बढ्दै जाने भएकाले शोधानान्तर स्थितीमा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।’ त्यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार विभागलाई उद्योग मन्त्रालय अन्तर्गत राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया