एकदिने मुख्यमन्त्री गोस्वामी

भारतीय सिनेमामा एक दिनका लागि मुख्यमन्त्री (सिएम) बनेका कथा हेर्न पाइएको थियो । २४ घण्टाका लागि शासन गर्नेले पूरै कार्यकालमा गरेकाले भन्दा निकै काम गरेर देखाए, तर त्यो सिनेमाको पर्दामा वास्तवमा होइन् । सिनेमामा मुख्यमन्त्रीले गरेको कामले निकै चर्चा पाउँथ्यो, हामीले चुनेका प्रतिनिधिले पनि यस्तै काम गरिदिए त भन्दै ।

यस्तै पछिल्लोपटक १९ वर्षीया एक किशोरी मुख्यमन्त्री बनिन् । भारतको उत्तराखण्ड राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी एक किशोरी एक दिनका लागि राज्यको मुख्यमन्त्री बनेसँगै अहिले उनको पूरै भारतभरि चर्चा चुलिएको छ । एक त सानो उमेरको किशोरी अर्कोतर्फ महिला । जुन राज्यमा आजसम्म महिला मुख्यमन्त्री बन्ने अवसर पाएका छैनन् । त्यस्तो राज्यमा एक किशोरी एकदिनका लागि बनिन् मुख्यमन्त्री । त्यसैले पनि उनको चर्चा चुलिएको हो ।

सृष्टि गोस्वामी नामकी बालिका राष्ट्रिय बालिका दिवसको अवसरमा गएको आइतबार प्रतिकात्मक रूपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन् । यससँगै उत्तराखण्डले प्रतिकात्मक रूपै भए पनि प्रथम महिला मुख्यमन्त्री पाएकोमा दंग बनेको छ । अब भने भविष्यमा वास्तवमै मुख्यमन्त्री बनेर राज्य चलाउन सक्छन् महिलाले भन्ने सन्देश फैलाउन चाहान्छन् उनीहरू ।

एकदिने मुख्यमन्त्री गोस्वामीले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका अलगअलग विभागहरूले गरेका कार्यबारे जानकारी लिइन् । त्यस क्रममा विभिन्न सरकारी निकायका अधिकारीहरूले आफूहरूले गरेका कामबारे उनको सामु प्रस्तुति दिए भने गोस्वामीले मुख्यमन्त्रीको हैसियतमा त्यसमा आफ्नो सुझाव दिइन् ।

गएको आइतबार मध्याह्न १२ बजेदेखि आयोजित उक्त कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए । उनले एकदिने मुख्यमन्त्रीको काम प्रत्यक्ष हेरे । मुख्यमन्त्री बनेकी गोस्वामीमा आत्मविश्वास देखिन्थ्यो । उनी साच्चैको मुख्यमन्त्री जस्तै प्रस्तुत भएकी थिइन् । कलिलो उमेर भए पनि उनमा आत्मविश्वास धेरै देखिन्थ्यो ।

मुख्यमन्त्री बनाउनुको उद्देश्य ः महिला सशक्तीकरणबारे राज्यमा जागरुकता फैलाउनका लागि उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन् । महिलाले पनि पाएमा सबै प्रकारका जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले उनलाई एक दिनका लागि मुख्यमन्त्री बनाइएको उनको तर्क छ । अब भने महिलालाई पनि मुख्यमन्त्री बनाउन पर्छ भन्ने राजनीतिक दलले सोचोस् भन्ने उनीहरूको माग छ ।

एकदिनका लागि मुख्यमन्त्री बन्ने भएपछि सामाजिक सञ्जालमा पोस्ट गरिएको आफ्नो भनाइमा सृष्टिले भनेकी छन्, ‘एक दिनका लागि मुख्यमन्त्री बन्ने मौका पाएकामा म निकै खुसी छु । उत्तराखण्ड सरकारका अलगअलग विभागहरूको प्रस्तुतिपछि म उनीहरूलाई आफ्नो सुझाव दिनेछु । म खासगरी बालिकाहरूको सुरक्षासँग जोडिएका सुझाव दिनेछु ।’ उनले आफ्नो योजनासमेत सार्वजनिक गरिन् ।

एकदिने मुख्यमन्त्री उनी रुड्कीस्थित बिएमएम पिजी कलेजमा बिएससी कृषिकी छात्रा हुन् । उनका पिता गाउँमा पसल चलाउँछन् भने उनकी आमा बालबालिका हेरचाह केन्द्रमा काम गर्छिन् । छोरी एक दिनका लागि मुख्यमन्त्री बनेकोमा सृष्टिकी आमाले भनिन्, ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीहरू सबै कुरा गर्न सक्छन् । उनीहरूलाई खुलेर साथ दिने र उनीहरूको कामलाई समर्थन गर्ने हो भने उनीहरू कोहीभन्दा कम छैनन् । हाम्रा छोरीहरुले कुनै पनि स्थान प्राप्त गर्न सक्छन् र त्यो जिम्मेवारी पूरा गर्छन् ।’ उनले जिम्मेवारीले छोरीहरूमा आत्मबल बढने बताइन् । हरेक छोरीहरूलाई हौसला दिएर अगाडि बढाएमा सबै प्रकारका जिम्मेवारी पूरा गर्ने उनको दाबी छ ।

उत्तराखण्डमा महिला सशक्तीकरण र अधिकारका विषयमा काम गर्ने संगठन र अधिकारकर्मीहरूले सृष्टिलाई प्रतिकात्मक रूपमा एकदिनका लागि मुख्यमन्त्री बनाउने कदमको स्वागत गरे पनि उनीहरूले केही प्रश्न पनि सोधेका छन् । ‘प्रतिकात्मक रूपमा महिलाहरूको सशक्तीकरणका यस्ता प्रयास आफ्नो स्थानमा जरुरी छन् तर वास्तविक रूपमा महिलाहरूको सशक्तीकरणको विषय ज्यादा चुनौतीपूर्ण छ । यस्ता प्रश्नले सामाजिक रूपमा महिलाको नेतृत्वप्रति शंका पैदा गरेको देखिन्छ । यसको मतलव समाज अहिले पनि महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने देखिन्छ ।

उत्तराखण्ड राज्य बनेपछि पछिल्लो २० वर्षमा यहाँ नौ जना मुख्यमन्त्री सत्तामा रहेर शासन गरे । तर अहिलेसम्म मुख्यमन्त्री पदका लागि कहिल्यै पनि कुनै पनि महिलाको नामसमेत लिइएको छैन । न कुनै पार्टीले महिलालाई त्यो पदका लागि उपयुक्त ठान्यो । ‘साँच्चै भन्नुपर्दा उत्तराखण्डका पहाडहरूका असली भार महिलाहरूको काँधमा छ,’ कुमाउँ विश्वविद्यालयको डिएसबी क्याम्पसकी प्रथम महिला महासचिव रहिसकेकी भारती जोशीले भनिन् । उनको अनुसार यहाँका महिलाले घर परिवार र अन्य भार थामे पनि राज्यको बागडोर सम्हाल्ने अवसर आएका छैनन् ।

सन् २००१ मा सार्वजनिक गरिएको बलीउड चलचित्र नायकमा देखाइए जस्तै वास्तविक जीवनमा एकदिनकी मुख्यमन्त्री बनेकी १९ वर्षकी सृष्टि गोस्वामी भने उत्साहित देखिन्छिन् । अब चलचित्रको पर्दामा वा एकदिनका लागि होइन पुरुषसरह महिलालाई पनि यस्ता पदमा जिम्मेवारी दिनुपर्ने जोशीको धारणा छ । (बिबिसी)

प्रतिक्रिया