सरकारी जागिर छाडी कृषि व्यवसायमा रमाउँदै प्रदीप

सिन्धुली । कमलामाई नगरपालिका–२ भद्रकालीका प्रदीप गौतम आफ्नै ठाउँमा कृषि कर्ममा रमिरहेका छन् । ढेड वर्षअगाडि गाउँपालिकाको कृषि प्राविधिकको जागिर छोडे आफ्नै व्यवसायी सुरु गरेका हुन् । उमेरले भर्खर २३ लागेका गौतम सरकारी जागिर छोडेर कृषि व्यवसायमा लागेका छन् । ‘ढेड वर्षअगाडि गाउँपालिकामा कृषि प्राविधिक थिएँ’, उनले भने, ‘जागिर छोडेर आफ्नौ दाइसँग मिलेर च्याउँ उत्पादनबाट कृषि व्यवसाय सुरु गरियोे ।’ अरूको अर्डरमा बसेर काम गर्नुभन्दा आपैmँ केही गर्छु भनेर व्यवसाय गरेको गौतमले बताए । सुरुमा आफ्नो दाइसँग मिलेर गाउँमै हेल्लो किसान बहुउदेशीय कृषि च्याउ तथा पशुपक्षी फार्म दर्ता गराई एक हजार च्याउको बलबाट उनले व्यवसाय सुरु गरेका हुन् ।

कोरोना माहमारीको कारण च्याउबाट धेरै नोक्सानी भएपछि गौतमको दाइ विदेश गएको बताए । ‘लक डाउनले गर्दा च्याउमा ५ लाख नोक्सानी भयो ।’ उनले भने, ‘दाई त्यसपछि कमाउनका लागि विदेश जानुभयो’, उनले फेरि भने, मैले हारचाहि मानिनँ, फेरि थप तरकारी खेती गरेँ ।’ नौ कठ्ठा जग्गामा काउली, टमाटर, खुर्सी, काक्रोलगायत बेमौसमी तरकारी लगाएको गौतमले सुनाए । उक्त तरकारी एक लट बिक्री भइसकेको छ । एक लट तरकारीबाट लगभग तीन लाख नाफा कमाएको गौतमले बताए । ‘पछिल्लो लटमा च्याउ पनि बिक्री गरेँ, च्याउबाट पनि तीन लाख नाफा भयो’, उनले भने, ‘हाल फेरि १५ सय बल च्याउ थप गर्ने तयारी गरिरहेको छु ।’

गौतमले उत्पादन गरेको तरकारी सिन्धुलीलगायत छिमेकी जिल्लामा निर्यात हुने गरेको छ । मन्थली, चरिकोटलगायत लाहानसम्म गौतमले उत्पादन गरेको तरकारी पुग्ने गर्दछ । ‘च्याउ बिक्री गर्नका लागि बजारको समस्या छ’, उनले भने, ‘सिन्धुलीमाढीको कृषिउपज बजारमा आपूmले उत्पादन गरेको तरकारी बिक्रीका लागि कमलामाई नगरपालिकाले स्टल व्यवस्था गरे सजिलो हुन्थ्यो ।’ बजारमा स्टलको व्यवस्था गरिदिए जिल्लावासीले आफ्नै ठाउँको ताजा तरकारी उपभोग गर्न पाउने उनको भनाइ छ । गौतमले वार्षिक १० लाख नाफा कमाउने लक्ष्यअनुसार थप तरकारी खेती सुरु गर्ने भएका छन् । कृषि पेसामा लागेर मिहिनेत गरे गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गौतम उदाहरण भएका छन् । उनले आफ्नो फार्ममा स्थानीय तीन जनालाई मासिक २१ हजार तलबसहित रोजगार दिएका छन् ।

युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले कमलामाई नगरपालिकाले युवालक्षित विभिन्न कार्यक्रम गरिरहेको जनाएको छ । युवाहरूलाई कृषिमा आकर्षित गर्नका लागि विभिन्न जातका विरुवा लगायतका सामग्री ५० प्रतिशत अनुदानमा दिएको कमलामाई नगरपालिकाका कृषि प्राविधिक सरोज फुयालले बताए ।

प्रतिक्रिया