राजेन्द्रलाई सम्मान

काठमाडौं । युवा कलाकार राजेन्द्र कुँवर भारतको राजस्थानमा सम्मानित भएका छन् । अंतरंग कला एवं एजुकेसन सोसाइटी, टोंक राजस्थान भारतद्वारा आयोजित ‘राष्ट्रिय कलापर्व क्रेयान्स’ को अवसर पारेर कुँवरलाई ‘१४औं अन्तर्राष्ट्रिय कला रतन अवार्ड २०२०’ बाट सम्मानित गरिएको हो । लामो समयदेखि कलाकर्ममा सक्रिय रहेको भन्दै आफूलाई सम्मान गरेको कुँवरले बताए ।

उनले भने, ‘कलाकर्म मेरो जीवनको अभिन्न पाटो हो । यही क्षेत्रमा निरन्तर काम गरिरहेको छु । त्यसको मूल्यांकन गरेर मलाई राजस्थानको कला संस्था अंतरंग कला एवं एजुकेसन सोसाइटीले सम्मान गरेको हो । यस सम्मानले मलाई अझै काम गर्न प्रोत्साहन र हौसला मिलेको छ ।’
डेढ दशकदेखि कला क्षेत्रमा सक्रिय कुँवरले नेपाली कला क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरिएको हो ।

सुनवल नवलपरासीका कुँवरले त्रिभुवन विश्वविद्यालय, ललितकला केन्द्रीय विभागबाट चित्रकला विषयमा स्नातकोत्तर गरेका छन् । त्यस्तै, उनका देश विदेशका विभिन्न स्थानमा दर्जनौं पटक सामूहिक कला प्रदर्शनी भएका छन् । दर्जनौं कला कार्यशालामा समेत सहभागी भइसकेका कुँवरले नेपाली संस्कृति, प्रकृति तथा जनजीवनमा आधारित चित्र बनाउँदै आएका छन् । त्यसैगरी उनले कलामार्फत देशका पर्यटकीय स्थललाई समेत चिनाउँदै आएका छन् ।

प्रतिक्रिया