सिन्धुलीको प्रहरी प्रमुखमा तिम्सिना

सिन्धुली । जिल्लामा प्रहरी प्रमुखमा रूपमा आभुषण तिम्सिना सरुवा भई आएका छन् । केन्द्रीय अनुसन्धान रञ्जु सिग्देलको सरुवा भएसँगै उनी २ माघबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा आएका हुन् । सिन्धुली आएसँगै उनले मंगलबार जिल्लाभित्रका प्रत्रकारहरूसँग छलफल गरेका छन् । छलफलमा उनले सिन्धुली जिल्लाको शान्ति सुरक्षामा कुनै कमी नआउने बताए ।

कसैको दबाब र प्रभावमा प्रहरी नपर्ने भन्दै पीडितलाई न्याय दिलाउन आफू लागिपर्ने उनले बताए । यस्तै उनले पीडित नागरिकलाई प्रहरीको चौविसै घण्टा ढोका खुल्ला रहने बताए । ‘पीडित नागरिकले जुन समयमा पनि मलाई सम्पर्क गर्न सक्नुहुनेछ’, उनले भने, ‘कुनै नेतालाई अगाडि ल्याउनु पदैन, साधारण नागरिक एक्लै आए पनि न्याय पाउँ छ ।’ शान्ति सुरक्षाको पक्षमा आफ्नो कार्यकालसम्म जिल्लालाई परिवर्तनको आभास दिलाउने एसपी तिम्सिनाले प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा पत्रकारहरूले प्रहरी प्रशासन प्रेसरमा नभई न्यायमा चल्नुपर्ने सुझाव राखेका थिए । सिन्धुली जिल्ला राजमार्ग नै राजमार्ग भएको जिल्ला भएकाले शान्ति सुरक्षा र सीमा सुरक्षामा प्रहरी संवेदनशील हुनुपर्ने पत्रकारहरूको धारणा थियो । न्यायका लागि जनताले नेतालाई अगाडि बढाउनुपर्ने समस्या रहेको भन्दै प्रहरीले जनताको मन जित्नुपर्ने पत्रकारहरूको भनाइ थियो । जिल्लामा गाँजा खेती, लागुऔषधको सेवन, महिला हिंसाजस्ता समस्याहरु बढ्दो क्रममा रहेको र यसलाई न्यूनीकरण गर्नका लागि प्रहरी लागिपर्ने एसपी निम्सिनाको भनाइ छ ।

प्रतिक्रिया