देउवा पौडेल भेटवार्ता : ‘प्रदेश सरकारमा के गर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसमा प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमा ठोस सहमति बनाउने प्रयास शुरु भएको छ । पार्टीमा देखिएका समस्यासँगै प्रदेशसभाका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवा सोमबार अपरान्ह एक्लै वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पुगेका थिए । अपरान्ह साढे चार बजेतिर पौडेल निवास बोहोराटार पुगेका सभापति देउवाले पौडेललाई सहमतिमा आउन आग्रह पनि गरेका छन् । भेटमा सभापति देउवाले प्रदेश सभामा पेश भएका अविश्वास प्रस्तावबारे के गर्दा उपयुक्त होला ? भनेर पौडेलको सुझाव लिएका थिए । वरिष्ठ नेता पौडेलले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएपछिको अवस्था हेरेर उपयुक्त निर्णय लिनुपर्ने बताए । नेकपामा देखिएको अनौपचारिक विभाजनपछि प्रदेश–१ र बागमति प्रदेशका मुख्यमन्त्रीमाथी अविश्वासको प्रस्ताव दर्ता भएको छ । दुवै प्रदेशमा कांग्रेस निर्णायक देखिएपछि त्यहाका कांग्रेस सांसदहरु केन्द्रको निर्णय कुरिरहेका छन् ।

देउवा र पौडेलबीच सवा एक घण्टा ‘वान टु वान’ वार्ता भएपछि दुवै पक्षले औचापरिक कुरा बाहिर ल्याएका छैनन् । भेटमा सभापति देउवाले पार्टीको महाधिवेशन विलम्व गर्ने आफ्नो चाहना नरहेको भन्दै विवाद समाधानका लागि ‘लचिलो’ बन्न पौडेलसंग आग्रह गरेका छन् । ‘क्रियाशील हेर्ने समिति टुंग्याउनुप¥यो । समायोजनको विवाद पनि कसरी मिलाउने हो भन्नुप¥यो’, भेटमा देउवाले भनेका छन् ।

सभापति देउवाले क्रियाशील सदस्यताको छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गर्ने प्रस्ताव गरेका थिए । वरिष्ठ नेता पौडेलले भने देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । पौडेलले १३ औं महाधिवेशनमा क्रियाशील सदस्यताको छानबिन समितिको नेतृत्व गरेका नेता नरहरी आचार्यकै संयोजकत्वमा समिति बनाउनुपर्ने बताएका छन् । ‘रमेश लेखकको संयोजकत्वमा समिति बन्दा निष्पक्ष हुनेमा शंका रहेकोले नरहरी आचार्यकै समितिलाई निरन्तरता दिनुपर्ने सुझाव सभापतिलाई वरिष्ठ नेताले दिनुभएको छ’, बोहोराटार स्रोतले भन्यो ।

छलफलमा पार्टीका आन्तरिक विषयमा दुवै नेताबीच खुलस्त छलफल भएपनि कुनैपनि विषयमा सहमति भने बनेन । भेटका क्रममा पौडेलले सभापति देउवालाई सत्ताको मात्रै लोभ नगरी लोकतन्त्रका लागि आन्दोलनको नेतृत्व गर्न सुझाएका थिए । सभापति देउवाले पनि आफू आन्दोलनसंग डराएको नभई अदालतको निर्णय मान्ने धारणा मात्रै राखेको बताएका थिए । दुई नेताबीचको ‘वान टु वान’ वार्तामा महाधिवेशन कार्यतालिका संशोधन र समसामयिक राजनीतिबारे बढी छलफल भएको बताइएको छ ।

प्रतिक्रिया