मुख्यमन्त्री राईको विवाह

दुई दशकअघि वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहले अँफूभन्दा ३१ वर्ष कान्छी दुर्गा पौडेलसँग गरेको प्रेमविवाहले मुलुकको राजनीति निकै गर्माएको थियो । २७ वर्षअघि तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले आफूभन्दा २४ वर्ष कान्छी डा. आरजु राणासँग गरेको विवाहले पनि धेरै चर्चा पायो । यतिबेला प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पनि आफूभन्दा ३० वर्ष कान्छी जाङमु शेर्पासँग विवाह गर्न लागेको समाचारले मुलुकको राजनीति गर्माएको छ । उनीहरूको विवाह यही माघ ११ गते हुन गइरहेको समाचार मिडियाले दिएका छन् । उनीहरू लामोसमयदेखि प्रेम संबन्धमा रहेको जनाइएको छ । त्यसो त राजनीतिमा मात्रै होइन फिल्मी क्षेत्रमा पनि आफ्नी छोरी तथा नातनीकी उमेरकी युवतीसँग विवाह गर्नेहरूको कमी छैन ।

राजेश हमालले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराईसँग, ५४ वर्षीय छवि ओझाले २२ वर्षकी रेखा थापास“ग गरेको विवाहले पनि ठूलै चर्चा पाएको थियो । त्यसो त नायिका मिथिला शर्माले पनि ७४ वर्षीय पूर्वआइजिपी मोतिलाल बोहोरासँग विवाह गर्दा निकै चर्चा भएको थियो । केटा र केटीबीचको बढी उमेर अन्तरलाई अनमेल विवाह मानिएको छ । तर, कानुनले तोकेको न्यूनतम उमेर पार भएको र दुवैको राजीखुसी भएको अवस्थामा भने कानुनले बन्देज लगाएको छैन । प्रौढ पुरुष र युवतीबीचको विवाह नेपालमा मात्रै होइन विश्वभरी नै त्यतिधेरै अस्वभाविक मान्ने गरिएको छैन । उदाहरणका लागि चार वर्षअघि आपूmभन्दा ३९ वर्ष कान्छी विवाह गरेका डोनाल्ड ट्रमलाई अमेरिकी जनताले राष्ट्रपति पदमा निर्वाचित गरेका थिए । प्रौढ महिला र युवकबीच विवाह भएका घटनाहरू अपवादका रूपमा देखिन्छन् । यस्तो विवाहलाई भने धेरैले अस्वभाविक मान्ने गरेका छन् ।

कानुनको पाटो एउटा छ, तर सामाजिक तथा धार्मिक दृष्टिले पतिपत्नीको निकै लामो उमेर अन्तरलाई राम्रो मानिएको छैन । वैवाहिक संबन्ध समान उमेरका नारी पुरुषबीच नै हुनुपर्ने भनिएको छ । पतिपत्नीको लामो उमेर अन्तरलाई हाम्रो धर्म शास्त्रले श्राप मानेको छ । श्रीस्वस्थानी व्रतकथामा गोमा ब्राह्मणीले महादेवको श्राप पाएका कारण सात वर्षको उमेरमा ७० वर्षको बुढोसँग विवाह गर्न वाध्य हुनुपरेको रोचक कथा उल्लेख छ । त्यो कथा कति वर्षअघि लेखिएको हो थाहा छैन, तर त्यतिबेलासमेत श्राप तथा कलंकका रूपमा उल्लेख गरिएको यो कुप्रथाले हाम्रो समाजमा निरन्तरता पाइरहेको छ । एक सर्भेक्षण अनुसार नेपालमा सबैभन्दा धेरै बिक्री हुने धार्मिक पुस्तक श्रीस्वस्थानी व्रतकथाको हो । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म प्रायः नेपालीका घरमा श्रीस्वस्थानी व्रतकथा पढिन्छ । यस वर्षको स्वस्थानी व्रत आरम्भको चार दिनअघि प्रदेश–१ का मुख्यमन्त्रीले आफूभन्दा ३० वर्ष कान्छी युवतीस“ग विवाह गर्दैछन् ।

अगुवाहरूको देखासिखी समाजले गर्छ । आफैँ उदाहरण बनेर समाजलाई सकारात्मक सन्देश दिने जिम्मेवारी पनि अगुवाको हो । त्यसैले नेपालीमा एउटा उखानै छ ‘जो अगुवा, उही बाटोमा हगुवा ।’ तत्कालीन गृहमन्त्री देउवाले आफ्नो विवाहका क्रममा दिएको कानुन विपरीतको भोजमा यस्तो टिप्पणी सुनिएको थियो । कानुन कार्यान्वयन गराउने मुख्य जिम्मेवारी बोकेका गृहमन्त्रीले खुलेआम कानुनको बिर्खिलाप गरेका थिए । सक्नेलाई चैन निमुखालाई ऐन भन्ने उखानै छ । ०७६ वैशाख ११ गते जनकपुरको जानकी मन्दिरको छेवैमा ५० वर्षका प्रौढ र १९ वर्षकी युवतीबीच विवाह हुँदै गर्दा प्रहरीले बेहुलाबेहुलीसहित पाँच जनालाई पक्राउ गरेको थियो । अहिले मुख्यमन्त्री राईको करिबकरिब यही उमेरमा हुन गइरहेको विवाह भने प्रहरीको सुरक्षा घेराभित्रै होला सायद । किनकी बेहुला ५० वर्षका भए पनि बेहुली २० वर्ष पुगिसकेकी छिन् ।

प्रतिक्रिया