केटुमा नेपाली टोलीको किर्तिमान

काठमाडौं । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । हिउँद याममा पहिलो पटक हिमाल आरोहण गरी सो टोलीले इतिहास सचेको हो । संसारको दोस्रो सर्वोच्च शिखर केटूमा हालसम्म हिउँद याममा कोही पनि चुचुरोमा पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये पाकिस्तानमा रहेको यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन । शनिवार विहान नेपाली टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेको हो । निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ः४५ बजे (स्थानीय समयअनुसार ४ बजेर ५८ मिनेटमा) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पालेकेटुमा  अक्सिजनबिना नै आरोहण गरेका छन् । आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे । तीन विभिन्न एक्सिपिडिसन टीमबाट चढेपनि उनीहरुले नेपालबाट संयुक्तरुपमा आरोहण गरेको जनाएका छन् ।

‘हामीले नेपाल र नेपाली आरोही समुदायलाई गर्विलो तुल्याएका छौं’ चुचुरोमा पुगिसकेपछि मिङ्मा ग्याल्जी शेर्पाले सामाजिक संजालमा लेखेका छन् । यसैगरि निम पूर्जाले पनि सामूहिक मिहेनतका कारण प्रयास सफल भएको जनाएका छन् । चुचुरोमा पुगेपछि सबैले एकैसाथ नेपाली राष्ट्रिय गीत गाएको समेत उनले जनाएका छन् । ‘त्यतिबेला देशप्रेम महसुस भयो’ पुर्जाले भने । पर्वतारोहीका अनुसार केटु चढ्नु सगरमाथा आरोहणभन्दा कठिन कुरा हो किनभने केटु पर्वतको संरचना नै जटिल खालको छ । पूर्जाका अनुसार आफूहरु चुचुरोमा पुग्दा त्यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियस रहेको र २०० किमी प्रतिघन्टाले हावा चलेको जानकारी दिए । बिहीबारदेखि प्रयास गरिरहेका उनीहरु शनिबार मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दानामा जन्मेका ३७ वर्षीय पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेर विश्व र्कितिमानी कायम गरेका थिए । उनले अघिल्लो वैशाखमा अन्नपूर्ण गाउँपालिकमै पर्ने नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो प्रोजेक्ट पोसिबल अभियान थालेका थिए । ०७६ कात्तिकमा उनले तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्दै ७ महिनामा ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेका थिए । उनी यसअघि बेलायती सरकारको स्पेसल फोर्समा कार्यरत थिए । मासिक १४ लाख हाराहारी पारिश्रमिक भएको सैनिक जागिर छाडेर उनी गत वर्षदेखि आरोहणमा लागेका छन् ।

प्रतिक्रिया