आर्सनल बराबरीमा रोकियो

लण्डन । इंग्लिस प्रिमियर लिगमा आर्सनल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि प्यालेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा आर्सनल बराबरीमा रोकिन बाध्य बन्यो ।

इमिरेट्स स्टेडियममा खेलको २०औं मिनेटमा कप्तान पिएरे इमरिक औवामियाङको प्रहारलाई प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले बचाउदा आर्सनल अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा वेलफ्रेड जाहाको प्रहारमा ग्रानिट झाकाले क्लियर गर्दै आर्सनलको संकट टारे ।

३९औं मिनेटमा इविरिची इजीको प्रहार बारमा लागेर फर्कदा क्रिस्टल प्यालेस अग्रता लिनबाट चुक्यो । दोस्रो हाफमा दुवै टोलीले केही आक्रमण बुनेपनि गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो । यो बराबरीले आर्सनल १८ खेलबाट २४ अंक जोडेर ११औं स्थानमा रहँदा प्यालेसपनि समान खेलबाटै २३ अंक जोडेर १३औं स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया