नेपाल क्लियरिङ हाउसको कर्पोरेट पे सेवा

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘कर्पोरेट पे’ प्रणालीको औपचारिक सुरुवात गरेको छ । सो प्रणालीको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उदघाटन गरेका हुन ।  डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगइ आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी खाताबाट गर्न सकिने छ । बिहीबार औपचारिक उद्घाटन भएपनि केही बैंकहरुबाट यसको सुरुवात भइसकेकोछ । यो प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएलमा भुक्तानी कारोबार गर्न सकिन्छ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमान सिंह प्रधानले सदस्य बैंक तथा वित्तीय संस्थालाई कर्पोरेट पे को सुविधा दिने र उनीहरुले आफ्नो ग्राहकलाई यसमा आबद्ध गराउँदै जानु पर्ने बताएका छन । उनले करिव १० महिना लगाएर तयार पारिएको यो प्रणालीबाट आफ्नै बैंक वा अन्तर बैंकमा पनि कारोबार गर्न सकिने बताए । यसमा १० लाखदेखि २० करोड रुपैयाँसम्म कारोबार सीमा रहेको छ ।

सो अवसरमा गभर्नर अधिकारीले डिजिटल पेमेन्टको इकोसिस्टम बनाउने नीतिलाई अगाडि बढाउन कर्पोरेट पे प्रणाली महत्वपूर्ण खुड्किलो भएको बताए । आगामी दिनमा नगद कारोबार कम गर्दै डिजिटललाई गुणात्मक रुपमा बढाउन राष्ट्र बैंक पनि लागि परेको उनको भनाई थियो ।  उनले विश्वबाटै म्यानुअल्ली गरिने चेकको क्लियरिङ हटिरहेका बेला नेपालमा पनि यसलाई हटाएर विद्युतीय बनाउनु पर्नेमा जोड दिए । गभर्नर अधिकारीले विगतमा नगदको कारोबार कम गर्दै चेकको कारोबार बढाउन एनसीएचएल खोलिएको बताउँदै अब चेकको कारोबार पनि कम गरेर डिजिटल भुक्तानीमा जोड दिनु पर्ने बताए । उनले भने,‘अब चेक पनि होइन डिजिटल कारोबार बढाउनु पर्छ, यसको नेतृत्व एनसीएचएलले नै लिनु पर्छ ।’ एनसीएचएलमा राष्ट्र बैकको १० प्रतिशत लगानी छ । बाँकी लगानी बैंक तथा वित्तीय संस्थाहरुको रहेको छ । भर्चुअल सो कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दहाल र वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले डिजिटल इकोनोमी बढाउन कर्पोरेट पेजस्ता उत्पादन आवश्यक भएकोमा जोड दिएका थिए ।

प्रतिक्रिया