बागलुङमा तग्रिंँदै पर्यटन

बागलुङमा कोरोना महामारीका कारण थलापरेको पर्यटन क्षेत्र विस्तारै तग्रिँदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्बलाउन थालेका छन् । जिल्लामा धार्मिक तथा प्राकृतिक रूपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले विस्तारै गति लिन थालेका छन् । महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन् । यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ उद्यान निर्माणको काम गर्दैछ । पुस १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम सुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाभरका ६ स्थानीय तहमा ११ उद्यान र दुई विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालु आर्थिक वर्षका लागि सञ्चालित छन् । ‘उद्यान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजना छ,’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भने, ‘यस वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुने गरी प्रक्रिया थाल्न निर्देशन दिएका छौंँ ।’

ताराखोलामा दुई उद्यान बन्नेछन् । सहिद उद्यान तथा ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि १०÷१० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर सुरु भइसकेको कार्यालयका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । जैमिनी नगरपालिकामा १० लाख रुपैयाँमा दुई उद्यान बन्नेछन् । पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा सहिद उद्यान, रामरेखामा बिपी स्मृति उद्यान, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् ।

बिपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा १० लाख बजेट छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए । त्यहाँ १० लाख रुपैयाँ बजेट खर्च हुनेछ । गलकोटमा भगत सर्वजीत हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार बजेट छ ।
जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँच विद्यालयमा हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि २० लाख बजेट रहेको उनले बताए । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्सालले बताए । स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्यांकानुसार चार योजनाको मात्रै सम्झौता भएको छ । बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालिएको उनले बताए ।

यस्तै बागलुङ नगरपालिका–६ सिमको प्रगतिचोकदेखि पञ्चकोटसम्मको पदमार्ग निर्माण थालिएको छ । संघीय र गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने पदमार्गको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गरे । दुई मिटर चौडाइको पदमार्ग आगामी असार मसान्तसम्म सम्पन्न हुनेछ । एउटै योजनामा संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटलाई एकीकृत गरेर एउटै उपभोक्ता समितिमार्फत काम सुरु भएको नगरपालिकाले जनाएको छ । पदमार्ग निर्माणका लागि संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात लाख र गण्डकी प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७ लाख ५० हजार बजेट विनियोजन गरेका छन् ।
‘काम सुरु भएको छ, पञ्चकोट बागलुङको आर्थिक र सामाजिक विकाससँग जोडिएको क्षेत्र हो,’ शिलान्यास गर्दै पौडेलले भने, ‘संघ र प्रदेशको बजेटले नपुगे हामी साझेदारी गर्छौं, योजनाको काम उपभोक्ता समितिले समयमा सक्नुपर्छ ।’ पदमार्ग बनेपछि पैदल हिँडेर पञ्चकोट पुग्ने पर्यटकका लागि सहज हुने पौडेलले बताए ।

‘हामीले कालोपत्र सडक बनाउने अभियान चलाएका छौंँ, मासिएका पदमार्गको मर्मत र निर्माणको काम पनि चलिरहेको छ,’ पौडेलले भने । स्थानीयको दैनिकी र स्वरोजगारीसँग पदमार्गले अर्थ राख्छ । स्थानीय ढुंगा, गिटी र बालुवा तथा अन्य निर्माण सामग्रीको प्रयोग गरेर सो पदमार्ग बन्ने इञ्जिनियर दीपेन्द्र भण्डारीले बताए । डिभिजन वन कार्यालयअन्र्तगत सञ्चालन हुने योजनाको नियमित अनुगमन र सुपरीवेक्षण हुने डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले बताए । ‘धर्म र सम्पदासँग जोडिएको मार्ग भएकाले धेरैको चासो छ,’ उनले भने, ‘स्थानीय मजदूरको परिचालनमार्फत रोजगारी सिर्जनामा समेत यो योजनाले अर्थ राख्छ ।’ पञ्चकोट पुग्नका लागि वडाका विभिन्न स्थानबाट पदमार्ग बनाउने काम चलिरहेको वडाध्यक्ष खिमराज सापकोटाले बताए । सो पदमार्ग बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आवगनमा वृद्धि हुने उनको विश्वास छ । ‘पैदल हिँड्नेहरू धेरै हुँदा व्यापारव्यवसायमा टेवा पुग्छ,’ सापकोटाले भने, ‘स्थानीय उत्पादनले बजार पाउँछ ।’

प्रतिक्रिया