कोभिडबीच रामजानकी विवाहमहोत्सव

जनकपुरधाम । साताव्यापी रामजानकी विवाहमहोत्सवको शनिबार मुख्य दिन जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा रामजानकीको स्वयंवर सम्पन्न भएको छ । राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलाले फेरा लगाएर प्रतीकात्मक रामजानकीको स्वयंवर गरिएको हो । राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको झाँकी कीर्तन, बाजागाजासहित निस्केको डोला बाह्रबिघा मैदानमा पुगेपछि डोला फेर गरी स्वयंवर हुने गर्दछ ।

स्वयंवरमा साधुसन्तसहित सांस्कृतिक झाँकी प्रदर्शन भएको छ । कोरानाका बीच पनि हजारौँको संख्यामा श्रद्धालु भक्तजनको स्वयंवरमा सहभागिता थियो । बाह्रबिघामा स्वयंवरपश्चात् निस्केको दुवै डोला जनकपुर नगरको परिक्रमा गरी जानकी मन्दिर पुगेको छ । साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको मैथिली परम्परानुसार विवाहको कार्यक्रम शुरु भएको थियो । त्यहाँ हजारौँ श्रद्धालु रातभर जाग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् ।

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्ने गर्दछ । हिन्दू समुदायको आस्था र विश्वासको केन्द्र जनकपुरधाममा मुलुकका विभिन्न ठाउँलगायत छिमेकी मुलुक भारतबाट आएका लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन पनि मासिक रूपमा मेला लाग्छ । त्यस्तै चैत्रशुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा तथा त्यसको एक महिनापछि व्रशाखशुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ । त्यस्तै श्रावणशुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुणशुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाललीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागुपूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ । ती सबै उत्सव, चाडपर्व र समारोहमध्ये हजारौँ वर्षपूर्व मार्गशुक्ल पञ्चमी तिथिमा भएको रामजानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने रामजानकी विवाहपञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ ।
वैवाहिक समारोहको पूर्वांगस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा (बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत एंव अभिवादन गर्ने परम्परा छ ।

यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परानुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’ कर्म गंगासागरमा पुगेर निर्वाह गरिन्छ । यसैगरी पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रंगभूमि मैदानमा पुग्दछ ।

त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयंवर पूरा हुन्छ ।

त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरतीपूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसैरात मिथिला परम्परानुसार प्रतीकात्मक भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । -रासस

प्रतिक्रिया