तनहुँ । आदिकवि भानुभक्त आचार्यको स्मृतिमा निर्मित रामायण भवन संरक्षणको पर्खाइमा छ । संरक्षण कसले गर्ने भन्ने विषयमा विवाद भएपछि भानुभक्तको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित शिखरकटेरीमा बनेको भवन अलपत्र परेको हो । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गर्न नेपाल सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । भानु जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा निर्माण सम्पन्न भए पनि त्यसको संरक्षण गर्ने निकाय नहुँदा अलपत्र बनेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब तीन करोडको लागतमा २०५२ सालमा उक्त समिति गठन गरिएको थियो । नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेपछि अलपत्र बन्दै गएको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले गुनासो गरे ।
उनले रामायण भवन निर्माण सम्पन्नपछि संरक्षणका लागि कार्यपालिका बैठकमा पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको दुखेसो पोखे । यसअघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकका रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ । भवन निर्माण पूरा भए पनि रामायण भएका श्लोक, रामायणसम्बन्धी तस्बिर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढंगले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको छ । भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणाधीन संरचनाको संरक्षण र संवद्र्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।
उनले भने, ‘संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन ।’ उनका अनुसार संघीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा छ । रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायत जोखिम बढ्दै गएको समितिका खरिदार शिव रानाभाटले बताए ।
वनको बीच भागमा रामायण भवन निर्माण गरिएकाले एक्लै मानिस जान पनि सक्दैनन् । उनले भने, ‘आज गएर सरसफाइ गरेर चाबी लगाएर फर्कियो भोलिपल्ट जाँदा चाबी खोलेको र फोहोर गरेको मात्रै देख्न सकिन्छ ।’ कतिपय निर्माण गरिएका संरचनासमेत तोडफोड गरिएकाले समयमा ध्यान दिन नसकिए अरु क्षति व्यहोर्नुपर्ने देखिएको छ । राष्ट्रिय विभूतिको सम्मान गर्न पनि संघीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ । संघले प्रदेशलाई, प्रदेशले नगरपालिकालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम भइरहेकाले भवन अलपत्र बन्दै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले समेत समितिसँग कुनै पनि समन्वय नगरी काम गरेका कारण पनि भवन संरक्षणमा समस्या देखिएको उनले बताए ।
प्रतिक्रिया