मुगु । छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा एक महिनाको अवधिमा ५८ भेडा भालुले मारेको छ । रारा राष्ट्रिय निकुञ्जको भालुले पटकपटक गरी झ्यारी गाउँमा एक महिनाको अवधिका ५८ भेडा गोठमै पसेर मारेको हो । रारा राष्ट्रिय निकुञ्जको भालुले मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दालाई दिनदिनै आतंक मच्चाई आजित बनाउन थालेको छ । गत २१ मंसिरमा छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँका भेडापालक रमेश रावलका आठ भेडा मारेको हप्तादिनमै बुधबार राती भेडापालक हरिबहादुर विकका १४ वटा भेडालाई गोठमै पसेर भालुले मारेको छ ।
राती ११ बजेतिर सुतेको अवस्थमा भालु गोठमा पसेर भेडा मारेको र भेडा कराउँदै गरेको सुनेपछि गोठमा जाँदा भालुले भेडालगायत आपूmलाई पनि घाइते बनाएको हरिबहादुरले बताए । यस्तै गत ४ मसिरमा सोहि वडाका भेडापालक पदम रावलका २४ र घुघुरे कामीका ५ गरी २९ भेडाबाख्रा पनि भालुले मारेको थियो ।
बर्सेनि गाउँमा भालुले आतंक मच्चाई भेडा मार्ने गरेको स्थानीय बताउँछन् । अघिल्लो वर्ष पनि भालुले १५ भेडा मारेको वडाध्यक्ष कर्णबहादुर रावलले बताए । १ सय ३२ घरधुरी रहेको झ्यारी गाउँका अधिकांश स्थानीयहरूको प्रमुख आयस्रोत नै भेडापालन हो । तर, निकुञ्जबाट कहिले भालु त कहिले अन्य वन्यजन्तुले आजित बनाउने र अन्य दुःख दिने जोखिम बढेको किसानहरू बताउँछन् । स्थिति यस्तै रहे अब पशुपालन व्यवसायबाटै अलग्गिनु पर्ने चिन्ता किसानहरूमा बढेको छ ।
प्रतिक्रिया