सय जनालाई सय दिनको रोजगारी

दैलेख । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सय दिनको रोजगारी कार्यक्रम सुरु भएको छ जिल्लाको भगवतीमाई गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सय जनालाई सय दिनको रोजगारी दिने कार्यक्रमअन्तर्र्गत प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो । आर्थिक वर्षको अन्त्यमा आउने बजेटको अख्तियारीले विकास सही तरिकाले हुन नसकेको भन्ने गुनासा आइरहँदा दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ को लागि सय जनालाई सय दिनको रोजगारी कार्यक्रम सुरु गरेको छ । आर्थिक वर्षको अन्त्यमा हुने गरेका कामहरू प्रमावकारी नभएकोले यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै सुरु गरिएको भवतीमाई गाउँपालिकाका रोजगार संयोजक बलबहादुर भण्डारीले जानकारी दिए ।

जिल्लाको ११ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरोजगार रहेको भगवतीमाई गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आठ वटा योजना छनोट गरेको छ । युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामार्फत आठ वटा आयोजनामा चालु आर्थिक वर्षमा सूचीकृत भएका बेरोजगार युवालाई काममा लगाउने तयारी गरिएको छ । यस कार्यक्रमका लागि नेपाल सरकारको ससर्त अनुदानबाट आएको ५१ लाख ७० हजार रुपैयाँमार्फत करिब सय दिनका लागि रोजगारी पाउनेछन् ।

रोजगारी पाएकाहरूले गाउँपालिकाले छनौट गरेको आठ वटा आयोजनामा काम गर्ने गरी योजना छनोट गरिएको भगवतीमाई गाउँपालिकाका रोजगार संयोजक भण्डारी बताउँछन् । युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामार्फत गरिने काम सुरु भएको छ । यस परियोजनामा सय जनाले सय दिन काम गर्नेछन् । सुचिकृत भएका अन्य बेरोजगार व्यक्तिहरूलाई कुनै पनि दाताहरूले कामको लागि जनशक्ति माग गरेमा सुचिकृतबाट दाता र गाउँपालिकाको सम्झौता बमोजिम उचित पारिश्रमीक पाउने गरी काममा खटाउन सकिने गाउँपालिकाले जनाएको छ ।

मुलुकमा कुनै रोजगारीको स्रोत नभएर रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने युवाहरूको संख्या उच्च छ । आर्थिक अभावका कारण विदेशिने क्रम बढिरहेका बेला कोरोना भाइरसको महामारीमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य छन् । मुलुकभित्रै काम नपाएर बेरोजगार बस्ने युवाको संख्यामा बर्सेनि थपिँदै गएको छ । खुल्ला सिमाना पार गरेर कैयाँै नेपाली युवा, युवती कामको खोजीमा दक्षिणी छिमेकी भारत गइरहेका छन् । त्यसको यकिन तथ्यांक छैन । खाडी मुलुकहरूमा ‘थ्री डी’ (डर्टी, डिफिकल्ट एन्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरूमा हजारौँ युवाहरू संलग्न छन् ।

बेरोजगार युवाहरूको संख्या अतिक छ । बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले युवायुवतीहरू देशभित्रै रोजगारी दिने गरेको छ । नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गर्दै सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारीसमेत भएको छ । त्यसै अनुरूप प्रधानमन्त्री रोजगार कार्यक्रम हरेका पालिकामा लागू गरिएको छ । सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको छ ।

प्रतिक्रिया