‘ऐना’ कार्यक्रममार्फत टेलिभिजनमा आउँदै विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्मा ‘ऐना’ कार्यक्रममार्फत् टेलिभिजनमा आउने भएका छन् । २६ भागको कार्यक्रम ‘ऐना’मार्फत् प्रवक्ता शर्माले नेपाली सामाजिक जीवनका अनेक आयाममाथि बहस गर्न टेलिभिजन कार्यक्रम लिएर आउने भएका हुन्।

बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा ‘ऐना’का प्रस्तोताको रुपमा प्रवक्ता शर्माको नाम घोषणा गरिएको हो। ग्लोबल आइएमई बैंकको प्रायोजन रहेको ‘ऐना’ सातामा एकदिन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ। पत्रकार सम्मेलनमा सुगम पोखरेलको आवाजमा रहेको ‘ऐना’को ‘थिम सङ’ (शीर्षक गीत) सार्वजनिक गरिएको छ।

‘ऐना’का प्रस्तोता घोषणापछि कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले सामाजिक रुपान्तरणका लागि एउटा नवीन आरम्भका रुपमा ‘ऐना’ कार्यक्रम निर्माण गरिएको बताए।

‘राजनीतिक यात्राका दौरान मैले लिएको जिम्मेवारीबाट प्रश्नको उत्तर दिइरहने ठाउँबाट म प्रश्न सोध्ने जिम्मेवारीमा आएको छु,’ प्रवक्ता शर्माले भने। सामाजिक र मानवीय मुद्दामा केन्द्रित रहेर कार्यक्रम ‘ऐना’ निर्माण गरिएको छ। कार्यक्रमको छायांकन देशका विभिन्न ठाउँमा गरिएको छ।

प्रतिक्रिया