विभिन्न पुरस्कार घोषणा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले दुई लाखको ‘नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ । एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले दुई–दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालंकार सम्मान’ चीनका प्रा वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले डा महेशराज पन्त र प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । सभाले गत आवको खर्च पारित गर्दै चालु आवका लागि १९ करोड ५० लाखको बजेट पारित गरेको छ । त्यस्तै, वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको सदस्य सचिव उपाध्यायले जानकारी दिए ।

बैठकमा कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल भएको बताए । उनले प्रज्ञा–प्रतिष्ठानको जीवनमा प्राज्ञ सभाको विशिष्ट भूमिका रहने उल्लेख गरे । सभामा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभकामना सम्बोधन गरेका थिए । प्रतिष्ठानको प्राज्ञ सभा बैठकको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गरेका थिए । मन्त्री भट्टराईले पछिल्लो समयमा नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीलाई आग्रह गरेका थिए । उनले देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्ग संवेदनशील हुनुपर्नेमा जोड दिए ।

उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव प्रा. उपाध्यायले क्रमशः स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बैठकको सफलताको कामना गरे । प्राज्ञ सभाका अध्यक्ष तथा कुलपति उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको बैठकले गत आ.व.को खर्च पारित गर्दै चालू आर्थिक वर्षका लागि १९ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । यसै गरी प्राज्ञ सभाको बैठकले आ.व. २०७७÷०७८ का लागि विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया