प्रतिष्ठानको ३५औँ प्राज्ञसभा

काठमाडौं । कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३५औँ प्राज्ञसभालाई मंगलबार भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य हो ।’ उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अपेक्षा पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थक रूपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको विचार व्यक्त गरे ।

उनले भने, ‘तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेका छन् ।’ प्रधानमन्त्री ओलीले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना आरम्भले आफूलाई हर्षित तुल्याएको बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय संग्रहालय निर्माणको प्रक्रिया सुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने जानकारी दिए ।

प्रज्ञासभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, साहित्य र इतिहासमा अतिक्रमण भइराखेको बताएका छन् । उनले विद्वान प्राज्ञको मिहिनेत र कोशिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण सघाउँ पुग्ने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउनसमेत आग्रह गर्दछु ।’ उनले नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनै पनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको जिकिर गर्दै मन्त्री भट्टराईले यस क्षेत्रको विकासमा राज्य गर्नुपर्ने उत्तरदायित्व पूरा गर्ने बताए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले प्राज्ञसभाले वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने जानकारी दिए । उनले प्रतिष्ठानले नेपाली भाषा, साहित्य, संस्कृति, इतिहास, दर्शन लगायतका क्षेत्रमा काम गर्दै आएको र यसलाई अझै व्यवस्थित ढंगले अगाडि बढाउने बताए । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको थियो । प्रतिष्ठान स्थापनाको ६२औं वर्ष पूरा गरी ६३औं वर्ष प्रवेश गरेको र ३५औं प्रज्ञासभा मंगलबार प्रज्ञा भवन कमलादीमा बसेको हो ।

प्रतिक्रिया