चिसो बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी । महोत्तरी सहितका मध्यपूर्वी तराईमा यसपालि मंसिरमै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मंसिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरी सहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । गत आइतबार यता बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मंसिरमै जाडो निकै बढेको हो । महोत्तरीको पूर्व–पश्चिम राजमार्ग वरपर तुषारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाक्दै आएको छ ।

तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारमा चहलपहल ह्वात्तै घटेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको गुनासो छ ।
‘खै उमेरले ६० वर्ष टेक्न लागियो, मंसिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन’, महोत्तरीको भंगाहा नगरपालिका–४ रामनगरका ५८ वर्षीय किसान सत्यनारायण यादवले भने, ‘यसपालि कोरोना कहरले जाडो चाँडै बढाएको त होइन ?’ बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको भंगाहा–४ कै पलारको दलित बस्तीका ७० वर्षीय चौठी बाँतर बताउँछन् ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहारसंभार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसंभारमा ध्यान दिन आग्रह गरेका छन् । आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिंगर, झुत्रा प्लास्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विधानचन्द्र झाले बताए । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा. झाको भनाइ छ ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघसंस्थाले आग्रह गरेका छन् । मंसिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने आँकलनले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् । यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया