काठमाडौं । नुवाकोटकी कवि भैरवी भूगोलले लेखेको कविता ‘नेपालको गीत’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६३औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७७’ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘संकल्प’ द्वितीय भएको छ । त्यस्तै, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’ तृतीय, दोलखाकी कवि देवकी अभिलाषीको ‘आमा ः एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएको प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कृत कविता एउटै कृतिमा
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागेको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । २०२२ सालदेखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सवः पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकिएको छ । त्यसपछि पुरस्कृत भएका कवितालार्ई प्रा.डा.हेमनाथ पौडेल, डा.देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सवः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो । २०४६ सालदेखि २०७६ सम्मको तीस वर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा २०६३–२०६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन सकेको थिएन ।
पच्चीस वर्ष पुरस्कृत १२५ कविका कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको प्रतिष्ठानका काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्रा.डा.पौडेलले जानकारी दिए । ‘साहित्यकार तथा साहित्यप्रेमीलाई कुन कुन वर्ष कस्ता कस्ता कविता पुरस्कृत भएका थिए भन्ने बारेमा चासो हुनु स्वाभाविक हो’, उनले भने, ‘पुस्तक प्रकाशन गर्नाले नयाँ पुस्तालाई सिकाइ हुनाका साथै इतिहासको दस्तावेजीकरण गर्नमा समेत मद्दत मिल्छ ।’ कृतिमा पुरस्कृत कवि र कविताका साथै र महोत्सवको समग्र इतिहासका बारेमा पनि उल्लेख गरिने अर्का सम्पादक प्राज्ञ डा नेपालले बताए ।
प्रतिक्रिया