सरकारलाई घुँडा टेकाउने नेता आङदेम्बेको चेतावनी

पाँचथर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार र भ्रष्टाचारविरुद्ध मुलकभर विरोध प्रर्दर्शन गर्दै छ । यसै क्रममा पाँचथर जिल्लामा गरिने प्रर्दर्शनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।

आइतबार नेपाल प्रेस युनियन पाँचथरले फिदिममा गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीका अनुशासन समिति संयोजक भिष्मराज आङदेम्बेले अब हुने प्रर्दर्शनले आँधीबेरी सिर्जना गरी अहिलेको वर्तमान भ्रष्ट सरकारलाई घुँडा टेकाई छोड्ने चेतावनी दिएका छन् ।

उनले कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने बताए । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रनु परेको पनि उनको भनाइ छ ।

कांग्रेस पाँचथरले सोमबार सदरमुकाम फिदिममा ५ हजार नागरिक सडकमा उतार्ने तयारी गरेको छ । सभालाई पार्टीका केन्द्रिय सदस्य तथा अनुशासन समिति संयोजक आङदेम्बे, पार्टी जिल्ला सभापति नरेन्द्र कुमार केरुङ लगायतका जिल्ला स्तरका नेताले सम्बोधन गर्ने भएका छन् ।

पार्टी कार्यालयबाट बिहान ११.३० बजे मोटरसाइकल र्याली गर्ने, र्याली पछि सरकारको विरुद्धमा नारा जुलस गर्दै बजार परिक्रमा गर्ने र गणतन्त्र चोकमा सभा विसर्जन गरिने कांग्रेसले जनाएको छ ।

नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष सालिन युवा पत्रकार जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युनियनका जिल्ला सचिव कृयाशिल युवा पत्रकार सरोज शर्माले गरेका थिए ।

प्रतिक्रिया