नवलको निर्देशनमा ‘दिल चुप छ’

काठमाडौं । नवल नेपालको निर्देशनमा ‘दिल चुप छ’ सिरिज तयार भएको छ । पारिवारिक विषयमा केन्द्रित रही बनाइएको यो सिरिज १६ भागको रहेको छ । ‘बुढासुब्बा डिजिटल’ ले निर्माण गरेको ‘दिल चुप छ’ मा भावना र प्रेमलाई उतारिएको निर्देशक नवलले बताए । उनले भने, ‘यो सिरिजमा इमोसन र प्रेमलाई देखाइएको छ । हाम्रो सामान्य जीवनको विषयवस्तुलाई माथिल्लो स्तरमा ल्याएर सिरिजमा प्रस्तुत गर्ने कोशिस गरेका छौं ।’

उनका अनुसार सिरिजमा पात्रले कतिपय महशुस गरेका कुरा व्यक्त गर्न पाउँदैनन् तथा मनमा लागेका कुरा भन्न नसक्ने भएपछि सिरिजको नामै ‘दिल चुप छ’ राखिएको हो । उनले भने, ‘परिवारका विभिन्न व्यक्तिमा विभिन्न घटना हुँदै जान्छन् । त्यसलाई कसैले व्यक्त गर्ने मौका अवसर नै पाउँदैनन् । बाध्यात्मक रुपमा शान्त वातावरणमा बस्नुपर्ने भएकाले नै सिरिजको नाम ‘दिल चुप छ’ जुराइएको हो ।’ छायांकन सकिए पनि कहिलेदेखि प्रसारण गर्ने भन्ने बारेमा निर्माण पक्षले केही बताएको छैन । माघको पहिलो साताबाट सिरिजको प्रसारण हुन सक्ने जनाएको छ ।

यस सिरिजमा अभिनेता सरोज खनाल, अभिनेत्री सूर्यमाला खनाल, महेश खड्का, रिस्ता अधिकारी, विशाल पहाडी लगायतका कलाकारको अभिनय छ । उच्च प्रविधिको प्रयोग गरी निकै मिहिनेतका साथ सिरिज तयार पारिएको जनाउँदै निर्देशक नवलले भने, ‘यसको प्रोडक्सनमा पनि सोहीअनुसारको मिहिनेत गर्नुपर्नेछ । सायद पुस महिना प्रोडक्सनमा नै सकिनेछ ।’

यसअघि निर्देशक नवलले चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएपछि नयाँ चलचित्रको तयारीमा जुटिरहेका थिए । कोरोना संक्रमणका कारण चलचित्र क्षेत्र ठप्प भएपछि उनले सो कामलाई थाँती राख्न बाँध्य भएका थिए । नवलले भने सो चलचित्र नबनाइ ‘दिल चुप छ’ बनाउनतिर लागे । उनले अहिले नै चलचित्रको काम सुरु गर्ने अवस्था नरहेकाले सिरिज निर्देशनमा लागेको बताए ।

प्रतिक्रिया