बद्री पंगेनी र गोपाल पोखरेलको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

काठमाडौं । कला चल्यो, गला चल्यो, मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन
किन सम्धिनी मान्छे चलेन
किन सम्धीज्यू भान्से चलेन

गायक बद्री पंगेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । गायक पंगेनीकै युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पंगेनीलाई गायिका रचना रिमालले आवाजमा साथ दिएकी छन् ।

साथै, गीतमा नारायण ज्ञवालीका शब्द र गायक पङ्गेनीको आफ्नै सङ्गीत रहेको छ । पहिलो पटक गीतको भिडियो निर्देशन पंगेनी आफैँले गरेका छन् भने विश्वास नेपालको सङ्गीत संयोजन छ ।

बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ ।

गायक पंगेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ
जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ
दाइजो देको औँठी चल्यो, मान्छे चलेन

गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् ।

उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे ।

श्रीमान् आएपछि आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् । – रासस

प्रतिक्रिया