ट्याक्टर चालकको निधन पछि दुम्किबास तनाबग्रस्त, महेन्द्र राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वी नवलपरासीको दुम्किबासमा ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर स्थानीयबासीले बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण दुम्किबास क्षेत्र तनाबग्रस्त भएको छ, भने पूर्वपश्चिम राजमार्ग राती १ बजेदेखि अवरुद्ध भएको छ ।  विनयी त्रिवेणी १ विनयी खोलामा अबैध बालुवा लिन गएको लु ३ त ८१७५ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा घाइते भएका चालक हरिश्याम यादवको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

विहीबार रातिदेखि ऊनीहरुले इलाका प्रहरी कार्यालय दुम्किबासको गेट अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । प्रदर्शनका क्रममा स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप हुँदा दुई जना प्रहरी सामान्य घाइते भएका छन् ।

राति विनयी खोलामा अवैध रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भई घाइते भएका चालकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ भने स्थानीयले प्रहरीले कुटपिट गरेर चालकलाई मारेको दावी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले विनयी त्रिवेणी १ विनयी खोलामा बालुवा चोरी रहेका ट्याक्टरहरु नियन्त्रणमा लिने क्रममा भागाभाग हुँदा ट्याक्टर दुर्घटनामा भएको बताए ।

प्रहरी गएको देखेपछि ट्याक्टरको बत्ति निभाएर भाग्ने क्रममा दुर्घटना भई लु ३ त ८१७५ नम्बरको ट्याक्टरका चालक दाङको राजपुर गाउँपालिका ४ निवासी २४ बर्षीय हरिश्याम यादव गम्भीर घाइते भएको र उनको उपचारको क्रममा राती नै भरतपुर अस्पतालमा निधन भएको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरीले विनयी त्रिवेणी खोलाबाट राति नै चारवटा ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया