सर्लाहीको मलगंवामा आदर्श विवाह सम्पन्न

सर्लाही । गत सोमवारका दिन सर्लाहीको सदरमुकाम मलगंवामा दाइजो प्रथालाई चुनौती दिदै आदर्श विवाह सम्पन्न भएको हो । मलंगवा नगरपालिका  ९ निवासी राजिनन्द महतोको छोरी पुजा कुशवाहा र सुनसरी देवानगंज गाउँपालिका वडा नं २ निवासी हरिलाल मेहताको छोरा अशोक मेहता बीच आदर्श विवाह सम्पन्न भएको हो ।

तराईमा जडो गाडेको दाइजो प्रथालाई चुनौती दिदै बेहुला अशोक मेहताले स्वघोषणा आदर्श विवाह गरेका हुन् । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवा समेतले विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजो मागले समाज अक्रान्त बनिरहेको बेलामा निजामती सेवा राजपत्रांकित तृतीय श्रेणीमा सुनसरीको इनरवा नगरपालिकामा लेखा अधिकृत पदमा कार्यरत रहेका बेहुला अशोक मेहताले आदर्श विवाह गर्नाले समाजमा सकारात्मक संदेश प्रवाह हुनुका साथै दाइजो प्रथा न्यूनीकरणमा ठोस कदम चालिएको स्थानीयहरुले बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीमा प्राविधिक सहायक पदमा कार्यरत रहेका बेहुली पुजा कुशवाहाका मामा शुनिल कुशवाहाका अनुसार, यो आदर्श विवाहसँगै मेरो परिवारमा आदर्श विवाह गर्नेको संख्या चार पुगेको छ । तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने परम उद्देश्यले हामी आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका छौ, र यसलाई निकट भविष्यमा निरन्तरता दिलाउने संकल्प लिएको उनले बताए ।

उनले भने, हामी प्रत्येक युवाले तराई मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकारात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य रहेको महसुस गरेको छु । हामी तपाईंको सहयोगले हाम्रो समाजमा रहेको विधमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनीकरण भएर जाने विश्वास लिइएको उनले जनाएका छन् । बेहुला अशोक मेहताको यस कदमलाई हामिले हृदयदेखि नै स्वागत तथा सम्मान गर्छौं । साथै वैवाहिक बन्धनमा बाधिएकि बेहुली पुजा कुशवाहा र बेहुला अशोक मेहतालाई वैवाहिक जीवनको हार्दिक बधाई तथा सुखद नवदाम्पत्य जीवनको सफलताको मंगलमय शुभकामना समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया