युवाहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहबारे अन्तक्रिया

काभ्रे । नमोबुद्ध नगपालिकाभित्र रहेका युवाहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नमोबुद्ध नगर युवा परिषद्को आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरूसँग बुधबार अन्तत्र्रिmया सम्पन्न भएको हो । नगरप्रमुख एवं नगर युवा परिषद्का अध्यक्ष टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाभित्र शाखा रहेका पाँच वटा बैंकका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाहरूको उद्यमशिलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन बैंकका शाखा प्रमुखहरूलाई आग्रह गरे । सहुलितयपूर्ण कर्जा प्रवाह र त्यसको उपयोगिताबारे अनुगमन गर्ने तथा युवाहरूलाई वित्तीय साक्षरता, उद्यमशिलता र सीप विकासका तालिमहरू युवा परिषद्मार्फत आयोजना गर्ने प्रतिवद्धता उनले गरे । उनले उद्यमशीलता र सीप विकासका लागि बैंक तथा वित्तीय संस्थासँग साझेदारीका लागि नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालले सहुलियतपूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरूले कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाहलाई थप सहज बनाउने प्रतिवद्धता व्यक्त गर्दै अनुगमनका निम्ति नगरपालिकाको विशेष भूमिका रहने अपेक्षा व्यक्त गरे । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सहुलियतपूर्ण कर्जा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक समन्वय गर्ने बताए । कार्यक्रमबाट नमोबुद्ध नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरूका लागि सहुलियतपूर्णरुपमा कर्जा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन साझा कार्यविधि तयार पारी सबै बैंकले कार्यान्वयन गर्ने निर्णय भएको छ ।

यसैक्रममा नमोबुद्ध नगर युवा परिषद्मा मनोनीत सदस्यहरूको सपथ ग्रहण बुधबार सम्पन्न भएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख एवं नगर युवा परिषद्का अध्यक्ष टिपी शर्मा तिमल्सिनाले परिषद्का सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । नमोबुद्ध नगर युवा परिषद्को कार्यविधिअनुसार १३ जना विभिन्न क्षेत्रबाट परिषद्को सदस्यमा मनोनीत भएका छन् । सपथ ग्रहण गराउँदै नगरप्रमुख तिमल्सिनाले युवाहरूसँग साझेदारी गर्दै समृद्ध नगर निर्माणको अभियानमा लागिरहेको र आगामी दिनमा पनि युवाहरूको सहकार्य र खबरदारी जरुरी रहेको बताए । नगर युवा परिषद्कै पहलमा नमोबुद्धमा केन्द्रीयस्तरको युथ इनोभेसेन सेन्टर निर्माणको काम सुरु भएको जानकारी दिँदै तिमल्सिनाले बेथिति अन्त्यका लागि युवाहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका–५ का वडा अध्यक्ष बुद्धसिं तामाङ, वडा–१० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, वडा–११ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनाल लगायतले युवाहरूको सशक्तीकरणमा नगरपालिकाले सधैँ सक्रिय भूमिका खेल्ने प्रतिवद्धतासहित परिषद्का सदस्यहरूलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, नमुना युवा संसद्का प्रधानमन्त्री सञ्जीव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया