चेपाङ किशोरीका लागि छात्रावास भवन शिलान्यास

धादिङ । गजुरी गाउँपालिका– १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो । प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा निर्माण गर्न लागेको हो ।

साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु एक करोड १५ लाखको लागतमा निर्माण गरिने योजना गरिएको भवन २०७८ जेठमसान्तसम्म सम्पन्न हुने प्रयासका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज भवन शिलान्यास गर्दै विकासका काम कुनै पनि बहानामा नरोक्न आग्रह गरे । चेपाङ किशोरीको शैक्षिक विकासका लागि किशोरी चेपाङ समुदायलाई लक्ष्य गरेर निर्माण गरिने छात्रावासबाट किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने जनाउँदै शिक्षाका माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहने अपेक्षा सहयोगी साझेदार संस्थाले गरेको छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भौगोलिक विकट स्थानबाट उच्च शिक्षाका लागि आएका चेपाङ किशोरीको पढाइमा सहयोगका लागि विकास साझेदारसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्रावासको सही प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवसको अवसर पारेर प्रकाशित ‘लैङ्गिकतामा आधारित मुद्दामा समुदाय सशक्तीकरण सहयोगी सामग्री’ नामक पुस्तक विमोचन गरिएको थियो ।

प्रतिक्रिया