विकासको नमुना बन्दै लहान नगर

सिरहाको लहान नगरपालिका पछिल्लो समय विकासको नमुना नगरको रूपमा परिचित हुन थालेको छ । विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरक्षेत्रमा विकासको लहर तीव्र रूपमा सुरु भएको हो । नगरपालिकाले मुख्यतः भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालेपछि लहानको अहिले विस्तारै आफ्नो स्वरूप फेरिन थालेको छ । विगतमा अतिक्रमण र कुरूप सहरको रूपमा पहिचान बनाउँदै आएको लहान नगरपालिका अहिले सडक अतिक्रमण गरी बनाइएका छाप्रो हटाउनेदेखि सडकको स्तरोन्नतिको कार्यलाई तीव्रता दिएको छ । यसले विकासको अनुभूति हुन थालेको लहान नगरपालिका–८ का सत्यनारायण चौधरीले बताए । उनले भने, ‘बजार क्षेत्रमा सार्वजनिक सडक अतिक्रमण गरी छाप्रो ठड्याउने क्रम बढेको थियो, जनप्रतिनिधि आएपछि अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना हटाउनेदेखि सडक पूर्वाधार निर्माणमा जोड दिएको देखिन्छ ।’

साँघुरो सडकका कारण सधैँ ट्राफिक जाम हुने लहानका मुख्य तथा सहायक सडक यतिबेला जनप्रतिनिधिको सक्रियतामा फराकिलो र कालोपत्र भएको उनको भनाइ छ । ‘२० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माण प्रायः ठप्प भएको थियो,’ स्थानीयवासी सुभाष साहले भने, ‘जनप्रतिनिधि आएपछि नगरपालिकामा विकासको लहर नै चलेको आभास भइरहेको छ ।’ उनका अनुसार पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारमा बाटो स्तरोन्नतिसँगै पानी निकासका लागि नाला निर्माणको काम धमाधम हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । बाटो स्तरोन्नतिका साथै यातायात आवागमन सहज बनाउन नगरक्षेत्रमा व्यवस्थित बसपार्कसमेत सञ्चालनमा ल्याएका कारण दुर्घटनाको जोखिमसमेत कम भएको छ ।

कुल १ सय ६७ दशमलव १७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका क्षेत्रभित्रका करिब १० किलोमिटर सडक कालोपत्र र १८ किलोमिटरभन्दा बढी कृषि सडक ग्राभेल भइसकेको जनाइएको छ । यसका साथै ती कृषि सडकमा आधादर्जन पुलसमेत निर्माण गरिएको छ । लहान बजारको सौन्दर्यकरणसँगै आर्थिक स्रोतको रूपमा रहेको तरकारी हाटबजार, पार्क, सलहेश दीनाभद्री सपिङ कम्पलेक्स तथा घण्टाघर निर्माणको कार्यलाई महत्वाकांक्षी योजनाको रूपमा नगरपालिकाले अगाडि बढाएको छ ।

नेपालकै सबैभन्दा बढी वडा अर्थात् २४ वडा रहेको यो नगरपालिकाको सबै वडालाई सडक सञ्जालमा जोड्ने गरी चक्रपथ निर्माणका लागि डिपिआर तयार पारेर सडक पूर्वाधार विकासमा जोड दिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले बताए । कुल ९१ हजार ७ सय ६६ जनसंख्या रहेको लहान नगरपालिकामा कुल जनसंख्याको करिब १५ प्रतिशत विपन्न परिवार रहेको तथ्यलाई मनन गर्दै गरिब, विपन्न र दलित परिवारका लागि नगरपालिकाले नमुना एकीकृत बस्ती निर्माणको योजनालाई महत्वका साथ अघि बढाएको उनको भनाइ छ । ‘हामीले गरिब, विपन्न र दलित परिवारको पहिचान गरी नमुना एकीकृत बस्ती बनाउन थालेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत वडा–५ मा १० वटा भवन निर्माण गरी हस्तान्तरण गरिसकेका छौँ र वडा–११ मा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।’ भवन निर्माण सकिएपछि समुदायलाई हस्तान्तरणको गृहकार्यसमेत भइरहेको उनले बताए ।

नगरपालिकाको विभिन्न वडामा छरिएर रहेका विपन्न दलित समुदायका लागि नगरपालिकाले नेपालकै नमुना कार्यक्रमसमेत ल्याएको छ । ‘नगरपालिकाको २४ वटै वडाका दलित तथा विपन्न परिवारको तथ्थांक संकलनका लागि सर्वेक्षणको काम भइरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘सर्वेक्षण सकिएपछि पहिचान भएका दलित विपन्न परिवारलाई पहिचान कार्ड दिन्छौँ र त्यहीँ कार्डका अनुसार नगरपालिकाले मासिक रूपमा राहत उपलब्ध गराउनेछ ।’ विपन्नलाई मासिक रूपमा उपलब्ध गराउने राहतबारे ठोस निर्णय नभए पनि चामल, दाल, नुन, तेल लगायतका राहत सामग्री उपलब्ध गराउन सकिने योजना छ ।

विपन्न परिवारकै लागि विभिन्न वडामा खानेपानी ट््युवेल जडान तथा शौचालयसमेत निर्माण गरेको नगरपालिकाले जनाएको छ । भौतिक पूर्वाधार निर्माणसँगै कृषि क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकाले वर्षाैंदेखि बिउवीजन र मलखादको समस्या झेल्दै आएका किसानलाई यस वर्ष समयमै उन्नत बिउवीजन तथा मलखाद अनुदानमा वितरणसँगै पशुपालक किसानलाई उन्नत जातको बोकासमेत वितरण गरेको छ ।

आर्थिक समृद्धिका लागि पर्यटनलाई जोड दिएको लहान नगरपालिकाले नगरक्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षण, सम्बद्र्धन, जीर्णोद्वार र सौन्दर्यकरण कार्यलाई जोड दिएको छ । प्रत्येक वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फूल्ने पूmल सलहेशका कारण चर्चित धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीलाई सलहेश सर्किटको रूपमा विकास गर्न लागेको लहान नगरपालिकाको योजना शाखाका प्रमुख इन्जिनियर शत्रुधनप्रसाद चौधरीले बताए ।
‘ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको सलहेश फूलबारीलाई सलहेश सर्किटको रूपमा विकास गर्ने गरी योजना बनाएका छौँ,’ उनले भने, ‘त्यहीअनुसार अहिले सडक निर्माणलगायत भौतिक पूर्वाधार र संरचना निर्माण भइरहेका छन् ।’ यसका साथै पर्यटकलाई लोभ्याउन सकिने भवरा दह, देवी दह, मानिक दह लगायतका दहको जीर्णोद्वार तथा राजदेवी मन्दिरलाई व्यवस्थित र सौन्दर्यकरण गर्न थालिएको उनले बताए ।

प्रमुख चौधरीका अनुसार लहान बजारक्षेत्रमा पर्ने पुरानो नहरको स्तरोन्नति गरी सफा पानी ल्याउन र नगरक्षेत्रलाई सफा, स्वच्छ, सुन्दर नगर बनाउने अवधारणा रहेको छ । वडा–१५ ढोढनादेखि बेतहासम्म ट्रयाक खोल्ने कार्य अन्तिमचरणमा पुगेको उनले बताए । ०३२ सालमा स्थापना भएको सो नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । कुल साक्षरता दर ५७ दशमलव ९४ प्रतिशत रहेको नगरपालिकामा महिलाको साक्षरता दरमा वृद्धि गर्न महिलाका लागि प्राविधिक तालिमसमेत दिने गरी माध्यमिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । तथ्यांकअनुसार नगरपालिका क्षेत्रभित्र पुरुषको साक्षरता दर ६६ दशमलव ६६ प्रतिशत र महिलाको साक्षरता दर ४४ दशमलव ५१ प्रतिशत छ । यही अवस्थालाई दृष्टिगत गरी महिलाको साक्षरता दर बढाउन शिवशक्ति महिला आवासीय माध्यमिक विद्यालय निर्माण पनि भइरहेको छ । सो विद्यालय निर्माणको कार्य अन्तिमचरणमा पुगेको छ । नगरक्षेत्रका विद्यालय तथा स्वास्थ्यचौकीको सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति र भौतिक पूर्वाधार निर्माणको काम भइरहेको जनाएको छ ।

उद्योग व्यवसायीलाई प्रवद्र्धन गर्न नगरपालिकाले वडा–१४ मा उद्योगग्राम निर्माण गरिरहेको बताउँदै वडा–९ का अध्यक्ष प्रदीपकुमार चौधरीले उद्योग ग्रामसँगै नगरक्षेत्रका उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रोत्साहन कार्यक्रमसमेत ल्याएको जानकारी दिए । ०३६ सालदेखि अड्किएको टाउन प्लानिङको कार्यलाई समेत नगरपालिकाले अगाडि बढाइएको छ । नगरक्षेत्रको समग्र विकास गरी सम्वृद्ध नगरको रुपमा स्थापित गर्ने लक्ष्यका साथ योजना अघि बढेको लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले बताए । ‘हाम्रो लहान, समृद्ध लहान’ भन्ने नाराका साथ नगरपालिकाले सञ्चालन गरेको योजनाबाट स्थानीयवासीमा देखिएको उत्साहका कारण आफूहरूमा थप ऊर्जा मिलेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको नीति कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सिँचाइलाई प्राथमिकतामा राखेको नगरप्रमुख साहले बताए । ‘समृद्ध लहानको परिकल्पनाका साथ पारदर्शी रूपमा नगरपालिकाले आफ्ना योजना सञ्चालन गरिरहेको छौँ,’ उनले भने, ‘आफ्नो कार्यकालभित्रै लहान नगरपालिकालाई समृद्ध बनाउने संकल्पका साथ कार्य गरिरहेका छौँ, मेरो कार्यकालभित्रै लहान नगरपालिकाको मुहार फेरिन्छ ।’  ्आर्थिक अनियमितता र जनप्रतिनिधिबीचको विवादका कारण मुलुकका अधिकांश स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेका बेला लहान नगरपालिकाले ल्याएको विकासको लहर आफैँमा उदाहरणीय भएको स्थानीय वुद्धिजीवी सन्तोष गुप्ताले बताए ।

प्रतिक्रिया