एमबिबिएसको अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

खलंगा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ सुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन ।  जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेका अनुसार प्रतिष्ठानले एमबिबिएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पूरा गरिसकेको छ । उनले भने, ‘प्रतिष्ठान एमबिबिएस तहको पठनपाठन गर्न अनुमतिको प्रतिक्षामा छ । यस तहको पठन पाठनले दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन । जनताले घरआँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।’

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले ६ अर्बको बहुवर्षीय योजना पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमा पु¥याउन उच्च प्राथमिकता दिई काम गरिरहेको जानकारी दिए । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीका अनुसार प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ ।

कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ श्ययाका अस्पतालको शिलान्याससमेत भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको पूर्वाधार र एमबिबिएसको लागि सहयोग गर्न सरकारसित अनुरोध गरे ।

प्रतिक्रिया