काठमाडौं । मौलिक कथामा आधारित रहेर जीवन्त अभिनय गर्ने रियालिटी सो ‘कथाकुथुङ्ग्री च्याम्पियन’ को अडिसन खुल्ला भएको छ । नेपालकै पहिलो भनिएको उक्त च्याम्पियनको आइतबारदेखि अडिसन सुरु भएको हो । सूचना चौतारी सञ्चार सहकारी संस्था लि. को आयोजनामा हुने उक्त सो’को आइतबार एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । कोरोनाका कारण भर्चुअल माध्यमबाट अडिसन लिन लागिएको आयोजकले जनाएको छ । अनलाइन माध्यमबाट सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइने उक्त च्याम्पियनमा भाग लिन अनलाइनबाटै फारम भरी पठाउन सकिने कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
उनले विश्वभर कोरोनाले जनजीवनलाई प्रभावित पारेकाले अभिनय कलामा रुचि राख्ने व्यक्तिलाई कथावाचनमार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको बताए । उनले भने, ‘अभिनय कलामा रुचि राख्ने जोकोहीका लागि कथाकुथुंग्री च्याम्पियन एउटा प्लेटफर्म हुने आशा लिन सकिन्छ ।’ संस्थाका अध्यक्ष विपिन शर्माका अनुसार विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट सहभागीमध्ये प्रथमलाई दुई लाख, द्वितीयलाई एक लाख पचास हजार र तृतीयलाई पचास हजार नगदसहित अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । शर्माले अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा सुुरु हुने बताए । च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले ‘कथाकुथुंग्री च्याम्पियन’ मा निर्णायक मण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आरके मेहता र सरिता साह रहेको जानकारी दिए ।
प्रतिक्रिया