कोभिड खोपले डिएनए परिवर्तनको हल्ला मिथ्या

हामीले कोरोना भाइरसविरुद्धका खोपबारे निकै धेरै सेअर गरिएका केही मिथ्या दाबीको परीक्षण गरेका छौँ । तिनमा खोपको नाममा आनुवंशिक कोड परिवर्तन गर्न लागिएको कुरादेखि मानिसहरूमा माइक्रोचिप्स हाल्न लागिएको दाबीसम्म छन् । सामाजिक सञ्जालमा बारम्बार देखिने एउटा झुटचाहिँ खोपले कुनै न कुनै रूपमा तपाईंको डिएनए परिवर्तन गरिदिन्छ भन्नेछ । तीन जना स्वतन्त्र वैज्ञानिकहरूलाई यसबारे सोधिएको थियो । उनीहरूले कोरोना भाइरस खोपले मानव डिएनए परिवर्तन नगर्ने बताए ।

अहिले विकास गरिएका केही नयाँ खोपमा (हालै युकेले स्वीकृति दिएको फाइजररबायोएनटेकको खोपसहित) भाइरसको आनुवंशिक कण वा मेसिन्जर आरएनए प्रयोग गरिएको हुन्छ । ‘मानिसको शरीरमा आरएनए पठाउँदा त्यसले मानव डिएनएमा केही असर गर्दैन,’ अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्रे आल्मन्डले बताए । यसले शरीरलाई कोरोना भाइरसको सतहमा हुने जस्तै प्रोटिन बनाउन लगाउँछ । त्यसपछि मानिसको प्रतिरोध प्रणालीले त्यस्ता प्रोटीनलाई चिन्छ र तिनलाई नाश गर्ने एन्टिबडी बनाउँछ । बिल गेट्सले खोपको प्रयोग गरेर मानव डिएनएमा परिवर्तन गराउन वा गडबडी गराउन खोजेका हल्ला निकै सेअर भएका छन् ।

कोरोना भाइरस खोपले डिएनए परिवर्तन गर्छ भन्ने दाबीबारे हामीले गत मे महिनामै छानबिन गरेका थियौँ । त्यतिखेर एउटा भिडिओमा त्यस्तो दाबी गरिएको थियो । एमआरएनए प्रविधिको खोप पहिले कहिल्यै परीक्षण वा स्वीकृत नगरिएका चर्चा चलेका छन् । यो साँचो हो कि एमआरएनए खोप यसअघि स्वीकृत भएको थिएन । तर, यो विधिबारेका अनुसन्धान गत केही वर्षदेखि नै हुन थालेका थिए । अनि महामारी भएपछि त यसको परीक्षण हजारौँ मानिसमा गरिसकिएको छ ।

सबै नयाँ खोपजस्तै कोभिडका खोपहरू पनि विभिन्न चरणमा परीक्षण गरिएको छ । पहिलो र दोस्रो चरणमा थोरै संख्याका मानिसमा यो कत्तिको सुरक्षित छ अनि कति मात्रा उपयुक्त हुन्छ भनेर परीक्षण गरिन्छ । तेस्रो चरणमा हजारौँ मानिसमा यसको प्रभावकारिता जाँचिन्छ ।

यस्तै अर्को हल्ला वा षड्यन्त्रको दाबी संसारभरि फैलिएको छ । यो हल्लाले के भन्छ भने कोरोना भाइरस महामारी एउटा गोप्य योजना हो जसको नाममा मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप जडान गर्न खोजिँदै छ । यो सबै योजनाका पछाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स रहेको दाबी गरिएको छ । तर, यथार्थ के हो भने कुनै खोपमा ‘माइक्रोचिप’ छैन र बिल गेट्सले यस्तो योजना बनाइरहेको कुनै प्रमाण छैन ।

बिल तथा मेलिन्डा गेट्स फाउन्डेसनले यो हल्ला एकदमै असत्य भएको प्रतिक्रिया दिएको छ । एकजना टिकटक प्रयोगकर्ताले आफूमा माइक्रोचिप जडान गरिएको भन्दै भिडिओ बनाएकी छन् र खोपलाई ‘दैत्यको छाप’ भनेकी छन् । महामारीका बेला अर्बपति बिल गेट्सलाई जोडेर धेरै हल्ला फिँजिए । उनले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण पनि उनी निसानामा परेका छन् ।

खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रुणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि चलेका छन् । ती असत्य हुन् । ‘कुनै पनि खोप विकासको कार्यमा भ्रुणका कोष प्रयोग हुँदैनन्,’ साउद्याम्पटन यूनिभर्सिटीका डा. माइकल हेडले बताए । खोपमा गर्भपात गरिएको शिशुको तन्तु मिसाइएको हुन्छ भन्ने मिथ्या हल्ला पनि फैलिएको छ । अक्सफर्ड र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपबारे खोपविरोधी फेसबुक पेजमा भिडिओ राखिएर त्यस्तो दाबी गरिएको थियो । यसबारे अन्योल उत्पन्न हुनुको एउटा कारणचाहिँ सम्भवतः प्रयोगशालामा खोप निर्माण गर्दा त्यहीँ विकास गरिएका कोषको प्रयोग हुनु हो । तर यो अनुसन्धानमा कुनै भ्रुणको प्रयोग भएका छैन ।

त्यसमाथि खोप लगाउने बेलामा त्यस्ता कोषको कुनै अंश बाँकी भएको हुँदैन । अनि यी कोष पनि गर्भपात गरिएका शिशुका हुँदै हुँदैनन् । यदि कोरोना भाइरसबाट ज्यान जाने सम्भावना यति थोरै छ भने किन यसविरुद्ध खोप लगाउनुप¥यो भन्ने प्रश्न हामी सामाजिक सञ्जालमा बारम्बार देख्छौँ । खोपका विरोधीहरूले सेअर गरेको एउटा मीममा कोरोना भाइरस संक्रमितमध्ये ९९ दशमलव ९७५ निको हुन्छन् भने खोप लगाउनुभन्दा संक्रमित हुनु नै सुरक्षित विकल्प हो भन्ने सन्देश दिइएको छ । ¥याप गायक ड्रेकको तस्बिर रहेको मिमलाई पनि खोपबारे झुट्टा हल्ला फिँजाउन प्रयोग गरिएका छन् । सुरुमा उक्त मीमले ‘निको हुने दर’ भनेर राखेको अंक अर्थात् जो संक्रमित भइकन पनि बाँचे त्यो सही छैन ।

अक्सफर्ड विश्वविद्यालयका वरिष्ठ तथ्यांकविद् जेसन ओक भन्छन्, कोभिड लागेकामध्ये ९ सय ९५ मानिस बाँच्छन् । त्यसैले १० हजार मध्ये सय जनाको ज्यान जान्छ, त्यो मीममा भनिएको १० हजार मध्ये ३ जनाभन्दा यो निकै धेरै हो । ओकले भने, ‘यसको जोखिम उमेरमा भर पर्छ । अनि यसले छोटो वा दीर्घकालमा पार्ने असर पनि छ ।’ केवल बाँच्नुसँग यो सम्बन्धित छैन । कैयौँ मानिसहरूलाई सघन उपचारको खाँचो पर्छ अनि कैयौँ मानिस यसको दीर्घकालीन असर बेहोर्न बाध्य हुन्छन् ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक लियाम स्मिथ खोप लगाउने कार्यलाई अरू मानिसको जीवनरक्षा गर्ने कार्यसरह समाजले लिनुपर्ने सुझाव दिन्छन् । ‘युकेमा महामारीको सबैभन्दा खराब असर, जसका कारण लक डाउन पनि गरियो, भनेको यसले स्वास्थसेवा अकस्मात बेहोर्न नसक्ने चापमा पर्ने अवस्था हो । अनि धेरै उमेरका अनि सहारा केन्द्रहरूमा बसिरहेका बिरामी मानिसहरू धेरै जोखिममा छन् । भाइरसले उनीहरूलाई गम्भीर बिरामी बनाइदिने सम्भावना पनि धेरै छ ।’ (बिबिसी)

प्रतिक्रिया