बूढानीलकण्ठमा स्थानीय पाठ्यक्रम पढाइँदै

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । स्थानीयस्तरका प्राकृतिक सांस्कृतिक भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्याले बताए ।

‘स्थानीयस्तरका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो’, प्रमुख उपाध्याले भने ।

गत वैशाखबाट पढाइ सुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठय्पुस्तक छपाइलगायतका काममा ढिलाइ भएको औँल्याइएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठन–पाठन अघि बढाएको बताइएको छ ।

नगरपालिकाले कक्षा एकदेखि आठसम्म अनिवार्य विषयका रुपमा अध्ययन अध्यापन सुरु गरेको बताइएको छ । पुस्तकको नाम कक्षा एकदेखि तीनसम्म ‘मेरो बूढानीलकण्ठ’ र चारदेखि आठसम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ ।

एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ ।

विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबचि सहमति भई उक्त पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया