न्युजिल्यान्ड बलियो योगफलतर्फ

लयडन । कप्तान केन विलियम्सन र ओपनर टम लाथमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले पहिलो टेष्टको पहिलो दिन वेस्टइन्डिजविरुद्ध राम्रो सुरुवात गर्दै बलियो योगफतर्फ अघि बढेको छ । सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ७८ ओभरमा २ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । कप्तान केन विलियम्सन आफ्नो टेष्ट करिअरको २२ औं शतक नजिक छन् । विलियम्सन २ सय १९ बलमा १६ चौका सहित ९७ रनमा अविजित छन् ।

विलियम्सनलाई अनुभवी ब्याट्सम्यान रस टेलरले ६१ बलमा ५ चौका सहित ३१ रनबाट दोस्रो दिन साथ दिने छन् । तेस्रो विकेटका लागि विलियम्सन र टेलरले १ सय ३७ बलमा ७५ रनको अविजित साझेदारी गरेका छन् । न्युजिल्यान्डले १४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । वेस्टइन्डिजका तीव्र गतिका बलर शनोन ग्रेबियलले डेब्यू खेल खेलेका विल योंगलाई चौथो ओभरको अन्तिम बलमा ५ रनमा एलबिडब्लू आउट गरे । उनले ११ बलमा १ चौका प्रहार गरे । पहिलो विकेट सस्तैमा गुमाएपनि दोस्रो विकेटका लागि विलियम्सन र लाथमले १ सय ५४ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

लाथम ५६ औं ओभरमा शतक नजिक पुगेर आउट भए । लाथमलाई केमार रोचले ८६ रनमा बोल्ड आउट गर्दै टेष्ट करिअरको १२ औं शतक पूरा गर्न दिएनन् । लाथमले १ सय ८४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । वेस्टइन्डिजले पहिलो दिन ६ बलर प्रयोग गर्दा केमार रोच र शनोन ग्रेबियलले एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया