चौरमा पढाउँदै आएको दाप्चा माविलाई आठ करोडको भवन

काभ्रे । नमोबुद्ध–८ डराउनेपोखरीस्थित दाप्चा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । एशियाली विकास बैक (एडिबी) र नेपाल सरकारको सहयोगमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत करिब ७ करोड ४३ लाखको लागतमा निर्माण भएको विद्यालय भवन बुधवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । अपांगमैत्री, बालमैत्री संरचनासहितको विद्यालय भवनमा २१ कोठा छन् । २ हजार लिटर क्षमताको खानेपानी टंयाकीसहित शौचालय लगायतका संरचना निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इञ्जिनियर बाबुराम देवकोटाले जानकारी दिए ।

वि.सं १९८६ मा भाषा पाठशालाको रुपमा स्थापना भएको विद्यालयमा हाल २ सय ६६ विद्यार्थी अध्ययनरत छन् । साविक डराउनेपोखरी गाविसको एक मात्रै माध्यमिक विद्यालयमा कक्षा कोठा अभाव भएपछि विद्यार्थीहरु स्थानीय विन्धवासिनी मन्दिरको पाटी, चौरमा बसेर पढ्दै आएका थिए । विद्यालयको उक्त समस्या विभिन्न सञ्चारमाध्यमा निरन्तर प्रकाशित भएपछि लवग्रिन जापानको २३ लाख सहयोग र स्थानीय श्रमदानसमेत गरी करिब २७ लाखको लागतमा ४ कोठे विद्यालय भवन निर्माण गरिदिएपनि अपर्याप्त हुँदै आएको थियो ।


२०७२ साल बैशाख १२ गतेको भूकम्पको कारण विद्यालय भवनमा थप क्षति भएपछि विद्यार्थीहरु पुन अस्थायी टहरामा पढ्न बाध्य थिए । विद्यालयको सो समस्या पुन सञ्चारमाध्ययममार्फत सार्वजनिक भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले चासो लिएर एडिबीको ऋण सहयोगमा विद्यालय भवन पुनर्निर्माण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले भौतिक पूर्वाधार निर्माण भएपनि शिक्षक दरबन्दी अभाव लगायतका समस्या भएको दुखेसो गरे । ‘पुस्तकालय, विज्ञान प्रयोशगाला, कम्प्युटर प्रयोगशाला बनेपनि ती कोठामा राख्ने सामान छैनन्,’ प्रअ दिनेशप्रसाद अधिकारीले भने, ‘मावि शिक्षक दरबन्दी नभएको कारण प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गर्नुपरेको छ, समस्या समाधानको लागि सम्बन्धित निकायले ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ २०४० सालमा प्रावि, २०५१ मा निमावि हुँदै २०६७ सालबाट मावि बनेको हो । उनले सञ्चारमाध्ययमको निरन्तर फलोअपका कारण विद्यालय भवन बनेकोमा आभार प्रकट गरे ।

नवनिर्मित विद्यालय भवनको वाग्मती प्रदेश सभा सदस्य चन्द्रबहादुर लामाले उद्घाटन गरे । लामाले प्रदेश सरकारमार्पmत कुनै न कुनै रुपमा विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । विद्यालयको माग अनुसार विद्यालय नर्स कार्यक्रमको लागि प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । निर्वाचित भएदेखि विकास निर्माणमा जोड दिएको बताउँदै उनले आफ्नो बुद्धि, विवेक र समयले भ्याएसम्म सो क्षेत्रको विकासको लागि प्रतिवद्धता जनाए ।

नमोबुद्ध नगरप्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाले इतिहास बोकेको विद्यालयलाई सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता जनाउँदै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । नर्सिङ कलेजको रुपमा विकास गर्न सकिए उपयुक्त हुने सोच राख्दै नगरप्रमुख शर्माले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।


कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख देवकुमार बराल, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, नेपाल पत्रकार महासंघ काभे्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, नमोबुद्ध –८ का अध्यक्ष शेरबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलबहादुर श्रेष्ठलगायतका वक्ताले विद्यालय शिक्षा र पुनर्निर्माणको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयको पुननिर्माणमा सघाउने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), इञ्जिनियर सोभित श्रेष्ठ, बाबुराम देवकोटा, सव–इञ्जिनियर गणेश मैनाली, श्रेया झा, सविन कायस्थ, परामर्शदाता, निर्माण व्यवसायीका प्रतिनिधी चेत लामा, दामोदर श्रेष्ठ, पत्रकार नगेन्द्र अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया