अपांगतामैत्री प्रदेश निर्माणमा जोड

विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपांगता मैत्री प्रदेश निर्माणमा जोड दिइएको बताएका छन् । अपांगता पुनःस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपांगतामैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उनले बताए ।

२९औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै मन्त्री घिमिरेले १ सय ३७ वटै स्थानीय तहमा करुणा फाउन्डेसनसँगको सहकार्यमा अपांगता पुनःस्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको बताए । मन्त्री घिमिरेले सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपांग महासंघ प्रदेश–१ तथा प्रदेशमा रहेका सम्पूर्ण अपांगता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्तिलगायत संबद्ध पक्षलाई हातेमालोका लागि पनि आग्रह गरे ।

प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा अपांगताका विषयमा उदाहरणीय कार्य गरेको बताउँदै उनले अहिले प्रदेशस्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताए । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार तथा पुनःस्थापना, अपांगता भएका व्यक्तिहरूका लागि सूचना, सहायता र परामर्श सेवाको सञ्चालन, प्रदेशस्तरीय अपांगता समन्वय समित गठन लगायतका कार्य गरिएको उनले बताए ।

अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रयास जारी रहेको बताउँदै मन्त्री घिमिरेले भने, ‘उहाँहरूका आवश्यकता र चाहना सबै पूरा गर्न सकिएको छैन ।’ अपांगता अधिकारसम्बन्धी महासन्धि व्यवस्थाको कार्यान्वयन, अपांगता अधिकारसम्बन्धी ऐन २०७४ मा उल्लेख भएका प्रावधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया