साढे सात सय अपांगहरूलाई स्वरोजगार बनाइँदै

विराटनगर । द लेप्रोसी मिसन नेपालले रोजगारविहीन अपांगता भएका व्यक्तिलाई बिउपूँजी तथा सिटी रिक्सा प्रदान गरेको छ । अपांगता भएका व्यक्तिहरूको २९औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा फाउन्ड परियोजनाले बिहीबार विराटनगरमा कार्यक्रमको आयोजना गरेर एक जनालाई ई–रिक्सा तथा दुुई जनालाई व्यवसाय सञ्चालनमा सहयोगका लागि बिउपुँजी प्रदान गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले विराटनगर–१५ का शारीरिक अपांगता भएका दीपक मण्डललाई ई–रिक्साको चाबी हस्तान्तरण गरे । यसैगरी संयुक्त रूपमा होटल व्यवसाय सञ्चालन गर्दै आएका शारीरिक अपांगता भएका विराटनगरका अनिता रिसाल तथा पुनम राजवंशीलाई संस्थाले ४७ हजार रुपैयाँ बिउपूँजीका लागि चेक हस्तान्तरण गरेको छ ।

अपांगता भएका व्यक्तिलाई आर्थिक गतिविधिमा सहभागी गराउन परियोजना सञ्चालन गरिएको हो । विराटनगर महानगरपालिकालगायत आसपासका गाउँ तथा नगरपालिकाहरूमा चार वर्षसम्म सञ्चालन हुुने सो परियोजनाले साढे सात सयभन्दा बढी अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य लिइएको छ । कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउने योजनामा महानगरपालिका केन्द्रित रहेको वताए । उनले अपांगता भएका व्यक्तिलाई अवसर दिनसके उनीहरूले जे पनि काम गर्न सक्छन् । उनीहरूको उचित व्यवस्थापनमा सबै संघसंस्थाको सहयोग अपरिहार्य रहेको बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले प्रदेश–१ मा रहेका उद्योगहरूमा गर्न सक्ने कामको क्षमताअनुुसार अपांगहरूलाई रोजगारी दिने व्यवस्था मिलाउन लागिएको बताए । कार्यक्रममा राष्ट्रिय अपांग महासंघका प्रदेश–१ का अध्यक्ष पार्वता श्रेष्ठले योग्यता र क्षमता भए पनि अपांग भएका व्यक्तिहरूले जहिले पनि पछाडि पर्ने गरेको बताए ।

उक्त संस्थाले उद्योग वाणिज्य महासंघ प्रदेश–१ तथा राष्ट्रिय अपांग महासंघको सहकार्यमा परियोजना अघि बढाएको र प्रतिव्यक्ति २३ हजार ५ सय रुपैयाँ बिउपूँजी प्रदान गर्ने लक्ष्य लिएको र अहिलेसम्म चार जनालाई बिउपूँजी प्रदान गरिएको संस्थाका क्लस्टर प्रमुुख बिपिन दासले बताए । संस्थाले अपांगता भएका व्यक्तिको विभिन्न तालिम दिएर उद्योगहरूमा क्षमता अनुुसार रोजगारीको अवसर प्रदान गर्ने, त्यस्तै आयआर्जनका लागि बिउपूँजी प्रदान गर्ने, सीपमूलक तालिमका साथै अपांगता भएकाहरूलाई ह्विलचियरलगायत विभिन्न सामग्री उपलव्ध गराएर आयआर्जनमा सहभागी गराउने लक्ष्य लिएको दासले बताए ।

स्वरोजगार तथा बिउपूँजी लिएर आर्थिक गतिविधिमा सहभागी हुुनका लागि ६० जनाभन्दा बढी अपांगता भएका व्यक्ति संस्थामा सूचीकृत भइसकेका छन् । यस्तो कार्यक्रम सञ्चालनका लागि विराटनगर मात्र नभएर रंगेली, लेटाङ तथा सुुनसरी जिल्लाबाट पनि माग भई आएको जनाइएको छ । यो कार्यक्रम प्रदेश–१ मै पहिलो भएको संस्थाको दाबी छ ।

प्रतिक्रिया