दोहोरीसाँझ सञ्चालनको माग गर्दै कलाकारहरुको शान्तिपूर्ण र्याली

काठमाडौं । सरकारसँग दोहोरीसाँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालनको माग गर्दै कलाकारहरुले शान्तिपूर्ण र्याली गरेका छन् । बिहीबार राजधानीको बिजुलीबजारबाट सुरु भएको उक्त र्याली माइतीघर मण्डलामा पुगेर कोणसभा सम्पन्न भएको हो ।

गत वर्ष चैतदेखि कोरोना भाइरसको संक्रमणका कारण चलिरहेको व्यवसाय एक्कासी बन्द हुँदा दोहोरीसाँझमा कार्यरत हजारौँ कलाकारहरु मर्कामा परेको र सबैको व्यवसाय पनि ठप्प भएकाले बाध्य भएर सडकमा निस्किन परेको कार्यक्रमका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

आजको यस र्यालीबाट पनि सरकाले आफूहरुको मागलाई नजरअन्दाज गरेको खण्डमा सिंहदरबार र बालुवाटारलगायत राजधानीका विभिन्न मूख्य सडकमा आन्दोलन गरिरहने संयोजक श्रेष्ठले बताए ।

केही दिनअघि भृकुटीमण्डपमा रात्रिकालीन व्यवसाय संघले यसैको माग गरेर पत्रकार सम्मेलन गरेपछि साँझ ६ बजेदेखि १० बजेसम्म मात्रै दोहोरी साँझ सञ्चालनको अनुमती पाएको तर, विशेष १० बजेपछि मात्रै यस व्यवसायलाई फाइदा हुने भएकाले ६ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाउने माग गरिएको अर्का ठमेलस्थित  गामबेसी दोहोरी साँझका सञ्चालक अर्जुन शेरचन (थकाली) ले जानकारी दिए ।

कोरोनाको महामारी भएपनि सरकारले राहतको प्याकेज ल्याएर कलाकारहरुका लागि विषम परिस्थितीमा सहजरुपमा जिउने वातावरण नबनाएको सञ्चालक शेरचनले गुनासो गरे ।

‘विगत ९ महिनादेखि हाम्रो व्यवसाय ठप्प भयो, हामी सञ्चालकहरु त यसै मारमा परियो, अझै हाम्रोमा कार्यरत कलाकारहरुको अवस्था दयनिय बनेको छ, सरकारले रमिता हेरेर बसेको छ’, उनले भने ।

उक्त शान्तिपूर्ण र्यालीमा सयौँको संख्यामा ठूलो जुलुससहित गीत गाउँदै कलाकारहरुले नाराबाजी गरेका थिए भने कडा सुरक्षाका साथ प्रहरीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

‘अरु व्यवसाय सरह दोहोरसिाँझ खोल्न देउ’, ‘रातमा मात्रै कोरोना सर्ने होर ?’, ‘गरिखान देउ’, ‘विरोध होइन व्यवसाय सञ्चालन गर्न देउ’, ‘अब त अत्ति भो’ जस्ता नारा लेखिएका प्लेकार्ड हातमा लिएर कलाकारहरुले गीत र मादलको तालमा र्याली गरेका थिए ।

प्रतिक्रिया