आदित्य र श्वेताको बिहे

मुम्बई । बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण वैवाहिक विवाह बन्धनमा बाँधिएका छन् । आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् । दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरुले मुम्बईको जुहुस्थित इस्कान मन्दिरमा बिहे गरेका हुन् ।
आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण, गायिका तथा आदित्यकी आमा दीपा नारायण झा लगायतले नृत्य गरेका थिए । बिहेमा बेहुलाका बुबा र आमा दुवैले दिल खोलेर नाचेका तस्बिर र भिडियो भारतीय सञ्चार माध्यममा सार्वजनिक भएका छन् ।

कोरोनाका कारण आदित्यको बिहेमा निकै कम मानिस मात्रै उपस्थित रहेको थिए । भारतीय सञ्चार माध्यमका अनुसार बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको थियो । आदित्य र श्वेता विगत १० वर्षदेखि प्रेमसम्बन्धमा थिए । उनीहरुले एक चलचित्रमा एकसाथ काम गरेपछि नजिकिएका थिए । आदित्यको बिहेको पार्टी बुधबार आयोजना गरिएको पनि निकै कम मानिसलाई मात्र बोलाइएको थियो ।

मोडल तथा अभिनेत्री श्वेताले दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत चलचित्र राघवेन्द्र (२००३) बाट डेब्यु गरेकी थिइन् । तंदूरी लव, शापित लगायतका चलचित्रमा काम गरेकी अभिनेत्री श्वेता ‘शापित’ मा आदित्यसँगै देखिएकी थिइन् । शापित आदित्यको मुख्य नायकको रुपमा पहिलो चलचित्र थियो । त्यस्तै, श्वेताले ‘बाबुल कि दुआए लेती जा’, ‘सगुन’ र ‘देखो मगर प्यार से’ लगायत टेलिशृंखलामा समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया