‘डिसेम्बर फल्स’ मा उपासना

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् । केही दिनअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको यो चलचित्रमा अभिनेता आर्यन सिग्देल मुख्य भूमिकामा देखिँदैछन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको अभिनेत्रीको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा अभिनेत्री उपासना भित्रिएकी हुन् ।
अभिनेता भुवन केसीको ‘क्याप्टेन’ चलचित्रबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै चलचित्रबाट उपासनाले तारिफ बटुल्न सफल भएकी थिइन् । पछिल्लो समय उपासनालाई आधा दर्जन बढी चलचित्रमा काम गर्ने अफर आएको जनाइएको छ । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको यो चलचित्रलाई भारतीय चलचित्र उद्योगमा कार्यरत् प्रवीण झाले निर्देशन गर्दैछन् । लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा अभिनेता आर्यन र अभिनेत्री उपासनाका साथमा सलोन बस्नेत, नागेन्द्र रिजाल, सुमन थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सञ्चारकर्मी नरेश भट्टराई लगायतले अभिनय गर्ने पक्का भइसकेको निर्माण पक्षले जनाएको छ । त्यस्तै, केही कलाकारको छनोट कार्य अझै जारी छ ।
भारतीय चलचित्र उद्योगका छायांकार रवि नायडुले छायांकन गर्ने यो चलचित्रको कथा बिपिका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो । चलचित्रमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । चलचित्रको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । ०७८ साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र काठमाडौं र पोखरामा खिचिने छ ।

प्रतिक्रिया