वैदेशिक रोजगारीमा जाँदा ई–सेवाबाट भुक्तानी व्यवस्था

काठमाडौं । वैदेशिक रोजगारीमा जानेले कल्याणकारी कोष र बिमाको रकम ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशिक रोजगारीमा जाँदा ई–सेवा खाता भएका व्यक्तिले सिधै ई–सेवाबाट भुक्तानी गर्न सक्नेछन् भने खाता नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन पोइन्टबाट बिमा रकम भुक्तानी गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने म्यादी बिमा ई–सेवामार्फत भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका अनुसार यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैंले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजेर श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले ई–सेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाइन फारम भरी ई–सेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन् । यस्तै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ठ कल्याणकारी कोषमा रकम बुझाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि ई–सेवाबाट रकम बुझाउन सक्ने बताएको छ । ई–सेवाबाट सिधै बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्दा वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको वचत हुनेछ ।

प्रतिक्रिया