शशी दिज्यू, देशको नाममा किन विवाद ?

मिथिला पोखरेल

ठीकै छ संविधानमा नै लेखेको भए नमानी हुँदैनथ्यो । तर, हुँदै नभएको विषय सडकमा छरेर के उपध्रो गर्न खोजेको हो ? सरकार, प्रधानमन्त्रीविरुद्ध यस्ता विषय सडकमा बिस्कुन सुकाए जस्तै गरेर तपाईंले तमासा देखाउन खोजेको स्पष्ट हुन्छ ।

आज हाम्रा घरमा नेपाल देशको नामका बारेमा उठाइएका विवादका विषयमा छलफल भयो । संविधान अगाडि राखेर त्यसका पानापाना पल्टाएर छलफल गरियो । संविधानको पुस्तकको पहिलो पाना नै नेपालको संविधान भनेर लेखिएको छ । अनि संविधानको प्रस्तावनाको सुरुको लाइनमा नेपाल मात्र उल्लेख गर्दै अनि देशका मूलभूत विशेषताहरू उल्लेख गरिएको छ ।

प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई देशको शासन व्यवस्था वा प्रणालीका रूपमा उल्लेख गरिएको छ, देशको नाम होइन । अनि यही शासन प्रणालीका माध्यमबाट देशमा दिगो शान्ति सुरक्षा, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दैछौँ भनिएको छ । अनि संविधानमा देशको नाम नेपाल मात्र भनिएको देखीदेखी किन आमजनतालाई गुमराहमा पार्ने भ्रमको खेती गर्न तयार हुनुहुन्छ, शशी दिज्यू ?

सायद् शशी श्रेष्ठ आफैँ सरिक भएर बनाएको संविधान हो यो । तपाईं अहिले राज्यव्यवस्था समितिको सभापति हुनुहुँदो रहेछ । संसदीय विभागको एउटा अभिभावकीय जिम्मेवार भूमिकामा हुनुहुन्छ तर तपाईं नै मातहत सदस्यहरूलाई भित्रभित्रै भड्काउने र उचाल्ने काममा लाग्नुभएको स्पष्ट हुन्छ । नेपाल देशका अनेक विशेषताहरू छन् र रहेका छन् । ती सबै विशेषता देशका नाम हुँदैनन् । एउटी छोरीका अनेक भूमिका र विशेषता हुन्छन्, ती छोरी आमा, दिदी, बहिनी, पत्नीलगायत सामाजिक, राजनीतिक र स्रष्टा भूमिकाका आधारमा अनेक पक्ष, भूमिका र विशेषताहरू हुन्छन् के ती सबै एउटी चेलीका नाम हुन् र हुन सक्छन् ?

ठीकै छ संविधानमा नै लेखेको भए नमानी हुँदैनथ्यो । तर, हुँदै नभएको विषय सडकमा छरेर के उपध्रो गर्न खोजेको हो ? सरकार, प्रधानमन्त्रीविरुद्ध यस्ता विषय सडकमा बिस्कुन सुकाएजस्तै गरेर तपार्इंले तमासा देखाउन खोजेको स्पष्ट हुन्छ ।  संविधानको भाग १ को प्रारम्भिकको १ नं. बुँदामा संविधान मूल कानुन भन्दै यो संविधान नेपालको अर्थात् नेपाल नामको देशको मूल कानुन हो भनिएको छ । संविधानमा कहीँ कतै नेपाल देशको नामका अगाडि कुनै फुँदा जोडिएको छैन । शशी श्रेष्ठको नाम मैले त्यति सुनेको पनि रहेनछु । तर, बुझ्दा कम्युनिस्ट पार्टीकै एउटा सानोसानो समूहको नेता हुँदै पूर्वमाओवादी पार्टीमा समाहित भएर अहिले नेकपाकी नेता हुनुभएको रहेछ ।

महिलाका नाताले तपार्इंको यो उचाइलाई सलाम नै गर्छु तर तपार्इं जत्तिका र त्यसभन्दा माथिल्लो उचाइ बनाएका महिलाहरू पूर्वएमाले पार्टीमा त मनग्गे छन् । तपार्इंले राम्रै अवसर पाउनुभएको रहेछ खुसी नै लाग्यो । पार्टी नेताका दौराका फेर समातेर अघि बढ्न हत्ते हालेको भए हामी धेरैका दिन बेलैमा आउँथे होलान् । हामी त आमा हौँ सबैलाई खुवाएर बाँकी बचेको खाने बानी परेका छौँ । तर शशी जी, यस्तो मौका बारबार नआउन सक्छ । मौकाको सदुपयोग गर्नुहोस् । यसरी रमिता नदेखाउनुहोस् ।

एकपटक देशको नाम फेर्न र गौरवशाली झण्डा फेर्न पनि तपाईहरू उग्र रूपमा लाग्नुभएकै हो । यसको रन्को अझै छ कि क्या हो ! तपाईहरूलाई यस्ता विषयमा बेलानकुबेला कसकसले उचाल्छ हँ ? कुनै कुनै छिमेकी त तपार्इं हामी एकाघरकालाई उक्साएर, फुक्र्याएर घरलाई नै तहसनहस पार्छन् नि । यो कुरा बेलैमा बुझ्नुहोला । अहिले पनि नेपाल एकीकरण र त्यसका मुख्य नायक पृथ्वीनारायण शाहलाई तपाईंहरू महत्व दिनुहुन्नजस्तो लाग्छ । नेपाल एकीकरण भएकाले अहिले हामी नेपाली हुन पाएका हौँ । नेपाल र नेपाली हुनमा गर्व गर्ने विषय र इतिहासलाई पटक्कै महत्व नदिएपछि के हुन्छ । यति साह्रो बैगुनी बनेर हामी के गर्दैछौँ ।

नेपालको नाम आफूखुसी राख्न र भन्न थालेपछि यो कुरा दुनियाँले देख्दा पनि सरम लाग्ने कुरा हुन्छ । त्यसैले सरकारले संविधान अनुसार नेपाल नाम उल्लेख गर्न मातहत मन्त्रालय, निकाय, सरकारलाई निर्देश गरेको देखिन्छ । देशको नाममा आफूखुसी वा लठिभद्र तरिकालाई संविधानअनुसार हटाई एकरूपता कायम गर्न खोजेको हो भन्ने कुरा सामान्यजनले सजिलै बुझ्ने कुरा हो । तर तपाईंहरू त आकासै खस्यो भनेझैँ गरेर देखावटी रोइलो गर्दै हुनुहुन्छ । शशी श्रेष्ठ ज्यू, तपाईं पार्टीको नेता भएका नाताले त्यस तहमा पुग्नुभएको हो । तर, तपाईंले यस्ता विषयमा सम्बन्धित तहमा सत्यतथ्य बुझ्ने अति सामान्य कुरालाई पर्वाह नगरी रोइलो गर्न थाल्नुभयो । अनि हुँदाहुँदा तपार्इंहरूलाई संघीयता नै सरकारले हटाउन आँट्यो कि भन्ने उधुम चिन्ता भएछ ।

देशको नाम जथाभावी फेर्दै जाने हो भने अनि भोलि जनगणतन्त्र पनि आउला अनि त्यति बेला फेरि देशको नाम जनगणतन्त्र नेपाल राख्नु, व्यवस्था फेरिए पिच्छे देशको नाम फेर्दै जाने यस्तो केटाकेटी पारा गर्न र भन्न सुहाउँछ ? संविधानले अब केही मूल विषय परिवर्तन गर्न नपाइने तर शासन व्यवस्था परिवर्तन गर्न बन्दुक बोक्न पर्दैन भनेको छ । त्यसैले बहुमत जनताको साथ लिएर राप्रपा भन्ने पार्टीले देशको शासन गर्दा देशको नामका अगाडि अर्को फँदा थप्नु पर्ला नि ? शशीजी के गर्न खोजेको र के भन्न खोजेको । अहिले पाएको मौका त केही कम्युनिस्ट नामधारी केही लोभीपापी नेतालाई अपच भइसक्यो । सधैँ कम्युनिस्टहरूले जित्छन् भनेर नसोचे हुन्छ । संघीय शासन प्रणालीबाट जनताको भलो भएन भने यसलाई जनताले नै उखेलेर फाल्छन् । सोभियत संघबाट कम्युनिस्टहरूलाई कहिल्यै नउठ्ने गरी पाताल धसाए कि धसाएनन् ? अहिले तपाईंहरूले दिउँसै रत्यौली खेल्दा राजावादीहरू हौसिन थालेका छन् र सडक जाम गर्न थालिसके । संसदीय समितिमा बसेर कति रमिता देखाउनु हुन्छ ? तपाईं अर्को एक अन्तर्वार्तामा पनि आफ्नै पार्टीको सरकारका विरुद्ध र अझ प्रधानमन्त्रीविरुद्ध विपक्षी पार्टीको नेताझैँ एकोहोरो आलोचना गर्दै हुनुहुन्थ्यो । अभागीलाई खाने बेला रिस उठ्छ भनेझैँ तपाईंहरूका कारण देश र जनताको भलो गर्ने यो महत्वपूर्ण अवसर गुम्ने हो कि भन्ने भएको छ । तर, सरकारले हिजोको सरकारका तुलनामा धेरै क्षेत्रमा धेरै सकारात्मक काम गरेको देखिन्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधानअनुसार देशको नामका बारेमा मात्र होइन संघ, प्रदेश र तिनका विभिन्न तह र निकायका अंगे्रजी र नेपाली नामहरूमा एकरूपता ल्याउने अतिसामान्य विषयमा सरकारले निर्णय गरी निर्देशन गरेको रहेछ । के यो नराम्रो काम हो ? कम्तीमा यो चाहिँ राम्रो हो भन्न सक्नुभयो ? स्थानीय निकायका विभिन्न तहका नामहरूमा पनि एकरूपता ल्याउन सरकारले अति सामान्य निर्देशन गरेको देखिन्छ तर खोटा सिक्काहरूले यति सामान्य विषयमा पनि रडाको मच्चाए । हुँदाहुँदा यत्ति नै बेला यस्तो निर्णय किन गर्नुप¥यो भनेको पनि सुनियो । अनि तपाईंलाई सोधेर हजुर कतिखेर निर्णय गरौँ भनेर सोध्नुपर्ने ? शंकाले लंका खान्छ । यस्तै शंका गर्न थाल्नुभयो आफ्नै घर भाँडिन बेर लाग्दैन शशी दिज्यू ?

प्रतिक्रिया